काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेर चैत १४ गते शनिवारदेखि एकीकृत कारोबार थालेको छ । 

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी सिटिजन्सले एकीकृत कारोबार थालेको हो । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका बैंकले जनाएको छ । 

२०७७ चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिब १२७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब ११३ अर्ब रुपैयाँ पुगेको छ । 

प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा पुगेका छन् । सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । 

सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । 

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्तिपश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने विश्वास व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने समेत उनको भनाई थियो । 

प्राप्तिबाट तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ति पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६६ वटा शाखाहरुबाट प्राप्त गर्ने उनले बताए । 

त्यसैगरी, साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवनप्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुनेमा विश्वास प्रकट गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्तिपश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि भएको, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवम् अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने प्रष्ट पारे । 

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचनलन गर्ने बताए । बैंकको बढ्दो ब्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुनसक्ने जोखिमहरु अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नका लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको जानकारी दिए । बैंकले करिब साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबवाट करिब साढे ९ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका पोखरेलले प्रष्ट पारे । 

वि.सं. २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ । यस्तै, सिटिजन्स बैंकले जनकपुर केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी असार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरेको थियो । बैंकले विराटनगरमा प्रधान कार्याल्य रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी २०७७ माघ २८ गते सम्झौता समेत गरिसकेको छ ।