काठमाण्डौ । फागुन २८ गतेको साँझ । काठमाण्डौ जाडोलाई विदा गरेर गर्मी भित्र्याउने तयारीमा थियो । नक्सालको एक थाई रेष्टुरेन्टमा चारवटा टेबल गाँसेर बनाइएको बैठकस्थलमा निकै अनौपचारिक रुपमा प्रस्तुत हुँदै थिए–नेपाल राष्ट्रबैंकका तत्कालीन वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी । 

सो साँझ उनले त्यहाँ आफू निकटका सीमित संचारकर्मीहरुलाई मात्र बोलाएका थिए । निकै कौतुहुलतासहित उनको निमन्त्रणा मान्न त्यहाँ भेला भएका संचारकर्मीहरुसँग उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिए । कुराको सुरुवात नै उनले ठट्टाबाट गरे । ‘तपाईहरुलाई थाहा छ ? मलाई सबैले आलू भन्छन् ।’ कतिपय संचारकर्मी त एकछिन् छक्क परे । संचारकर्मीहरुको अनुहारको भाव क्षणभरमै बुझेका शिवाकोटीले थप प्रष्ट पार्दै भने–‘म वास्तवमा आलू नै हो । आलू, अर्थात सबै तरकारीमा मिसाउँदा पनि मिल्ने । हो म त्यस्तै मान्छे हुँ । म जीवनभर आलू बनिरहन पाउँ !’ 

उनको प्रष्टोक्तिसँगै बैठकस्थलमा हाँसो फैलियो, कतिपयले ताली पड्काए समर्थनमा । 

निकै प्रेमिल पारामा उनी खुल्दै गए । नेपाल राष्ट्रबैंकबाट विदा भएपछिका दिनहरुमा अब आफूले आफ्नो सुषुप्त प्रतिभा उजागर गर्ने कुरा समेत सुनाए । केही संचारकर्मीहरुलाई उनले हालसालै रेकर्ड भई म्युजिक भिडियो समेत तयार भइसकेका २ वटा गीतको यूट्यूव लिंक समेत पठाउन भ्याए । अझै खुल्दै गएका उनले भने–‘म अब चाँडै एउटा गीति संग्रहका साथ आउँदैछु, तपाईहरुबाट पुरानै सहयोगको आशा राखेको छु ।’ 

अनि उनको प्रतिभाको विषयमा उत्सुक बनेका संचारकर्मीहरुलाई धरानस्थित महेन्द्र क्याम्पस पढेर विदा हुने युवा समयमा आफूले लेखेको छन्दबद्ध कविता सुनाउन थाले । नेपाल राष्ट्रबैंकको गभर्नरको दौडमा निकै संभावनायुक्त पात्रको रुपमा लिइए पनि अन्तिम अवस्थामा त्यो सफल बन्न नसकेका उनको पुरानो कविताले सायद यही अधूरो इच्छालाई समेत प्रतिबिम्बित गरिरहेको भान हुन्थ्यो:

मैले चुम्नु थियो यहाँ शिखर जो इच्छा अधूरै रह्यो
जाँदैछु प्रिय दौतरी सुजन हे बेला विदाको भयो ।
टिका दीप सजाउँदै अबिरका लाएर खादा पनि
मैले लौ सुरु गर्नु नै छ अब हे नौलो नयाँ जीवनी

शिवाकोटीले ठ्याक्कै आफ्नै सन्दर्भसँग मिल्ने गरी लय हाल्दै कवितामा हरफहरु थप्दै गए:

मेरा सुन्दर कार्य केही यदि भए सम्झी सँगाली भयो
गल्ती भूल भए क्षमा दिनुहोस् बेला विदाको भयो । 

जीवनको अधिकांश समय तथ्य र तथ्याङसँग, सूचकहरुसँग खेलेका शिवाकोटीको फरक खालको प्रतिभा देखेर, सुनेर कतिपय संचारकर्मी अचम्भित पनि थिए । 

उनले सो क्रममा आफूले निकट भविष्यमै आफूद्वारा लिखित गीति संग्रह प्रकाशन गर्न लागेको जानकारी दिए । बिजशालासँग कुरा गर्दै तत्कालीन डेपुटी गभर्नर शिवाकोटीले संभवत बैशाख १ गतेदेखि ५२ वटा रचना समेटिएका गीति संग्रह ‘पत्थरको मुटु’ सार्वजनिक हुने जनाए । यसअघि उनले २ वटा कविता संग्रह प्रकाशित गरिसकेका छन् । ०६१ सालमा ‘सपनाहरु देशलाई’ र ०६६ सालमा ‘उन्मुक्तिका स्वरहरु’ नामका दुईवटा कविता संग्रह प्रकाशित गरिसकेका शिवाकोटीले गत वर्ष ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक आर्थिक लेखहरुको सँगालो प्रकाशन गरी प्रधानमन्त्री केपी शर्मा ओलीबाट लञ्च गराएका थिए । 

उनले यसअघि ‘विद्यार्थीसँग नेपाल राष्ट्रबैंक’ नामको पुस्तकमा सहलेखकको भूमिका समेत निर्वाह गरिसकेका छन् । आफ्ना दुईवटा गीत रेकर्ड भई छायाङ्कनसहित यूट्यूवमा समेत आइसकेको, रेकर्ड भएका २ वटा राष्ट्रिय गीतको भिडियो समेत बनिसकेको तर लञ्च हुन बाँकी रहेको, रेकर्ड भएर लञ्च हुन बाँकी एउटा सामाजिक सुरक्षा सम्बन्धी गीत समेत रहेको, अडियो रेकर्ड भई भिडियो बन्दै गरेका २ वटा गीत समेत रहेका उनले सुनाए । उनले हालसम्म थप १० वटा गीत समेत रेकर्ड गराइसकेका छन्, तर ती गीतको म्युजिक भिडियो बनिसकेको छैन । 

एकाएक दर्जनौ गीत लेख्ने समय उनले कसरी मिलाए ? बिजशालाको जिज्ञासा मेट्दै उनले भने–‘यी सबै गीत मैले जागिरे जीवनमै लेखेको हुँ । नेपाल राष्ट्रबैंकबाट रिटायर्ड भएपछि त मैले लेख्नै सकेको छैन । मूड नै चलेको छैन । मैले जागिरे जीवनको व्यस्तताले पेण्डिङमा रहेको कामलाई सक्न चाहेको हुँ ।’ 

नेपाल राष्ट्रबैंकको वरिष्ठ डेपुटी गभर्नरबाट रिटायर्ड भएका उनलाई फेरि पनि कुनै बैंक वा वित्तीय संस्थामा गएर जागिर खान ३ वर्षे कुलिङ पिरियडले रोक्छ । उसो भए अबको जिन्दगी गीतसंगीतमै बिताउने सोंच बनाउनुभएको हो ? उनले थपे–‘ मिल्दोजुल्दो अवसर आयो भने लाग्न पनि सकिन्छ । घरमै बसेर लेखनको कार्यलाई अगाडि बढाउन पनि सकिन्छ । साथीहरुसँग टिम मिल्यो भने व्यापार व्यवसायमा हात हाल्न पनि सकिन्छ । तर, अहिल्यै यसै गर्ने भनेर निश्चित गरेको छैन ।’