काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७२ पुगेको छ। 

बैंकले लेलेपमा खोलेको शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा स्थानीय फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ। गत आइतबार आयोजित शाखारहित बैंकिङ सेवा उद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 

कार्यक्रममा फक्ताङलुङ गाउँ कार्यपालिकाकी सदस्य पेम्बा फुटी शेर्पा, साविक लेलेप गाविसका पूर्वगाविस अध्यक्ष ग्याजो भोटिया, निर्माण व्यवसायी तथा समाजसेवी जसबहादुर चेम्जोङ, स्थानीय व्यवसायी तथा समाजसेवी पेम्बा छिरिङ शेर्पासमेतको उपस्थिति थियो। 

कार्यक्रममा सनराइज बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीको समेत उपस्थिति थियो। 

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ। कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको  बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।