काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भिजा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। 

आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन नपर्ने र उक्त ‘ट्याप एन्ड पे’  सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले स्पष्ट पारेको छ। 

कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने बैंकले जनाएको छ। बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एन्ड पे  सुविधायुक्तमा स्त्तरोन्नति गरिसकेको छ। 

बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड सुविधा लिन सक्नेछन्।