काठमाण्डौ । इजिप्टले स्वेज नहरमा फसेको जहाज क्षतिपूर्ति तिरेपछि मात्रै छाड्ने भएको छ। 

इजिप्टको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नहरका प्रमुख ओसामा रेयाबीले यस्तो बताएका हुन्। ‘जहाज तयार भइसकेको छ। जहाजका कारण सिर्जना भएको अवरोधले निम्त्याएको घाटाको क्षतिपूर्तिमा सहमति भएपछि जहाज आफ्नो गन्तव्यमा जानेछ र यो मामिला बन्द हुनेछ’, ओसामाले अन्तर्वार्तामा भने। 

६ दिनसम्म नहरमा फसेको जहाजका कारण विश्वको व्यापार परिवहनमा अवरोध सिर्जना भएको थियो। जसका कारण स्वेज नहर प्राधिकरणले १५ मिलियन डलरबराबरको घाटा व्यहोरेको जनाएको छ। ओसामाले यस घटनाका कारण भएको सम्पूर्ण क्षतिपूर्ति तिरेपछि मात्रै जहाज छोड्ने बताएका छन्। जहाज र यसको कार्गोलाई अहिले नहर बाहिर द ग्रेट बिटर लेकमा राखिएको छ। 

जहाज ग्राउन्डिङका कारण भएको अधिकांश क्षतिपूर्ति पुनर्बीमा कम्पनीहरुले तिर्नुपर्ने यस उद्योगसँग सम्बन्धीत व्यक्तिहरुले बताएका छन्। आम रुपमा पानी जहाजहरुले प्रोटेक्सन एन्ड इन्डेम्निटी (पी एन्ड आई) इन्स्योरेन्स गरेका हुन्छन्। जसले वातावरणीय क्षति र चोटपटक सहित तेस्रो पक्ष दायित्व दाबीलाई कभर गर्ने गर्दछ। यस्तै सेपरेट हल एन्ड मेसिनरी (एच एन्ड एम) पोलिसीले जहाजमा हुने भौतिक क्षतिलाई कभर गर्ने गर्दछ। 

यूके पी एन्ड आई क्लबका क्लेम प्रमुख एलेज म्याकिन्सनले नहरका अधिकारीहरुबाट जहाजका मालिकविरुद्ध आम्दानीमा आएको कमी र नहरमा भएको क्षतिका लागि दाबी पर्ने सक्ने बताएका छन्। यसका साथै यात्रामा भएको ढिलाइका लागि अन्य जहाजका मालिकहरुबाट समेत दाबी पर्न सक्ने उनले बताए। 

नहरका प्रमुख ओसामा रेयाबीले गत महिना जहाजका कारण भएको घाटा र क्षतिको मूल्य १ बिलियन अमेरिकी डलर पुग्न सक्ने बताएका थिए। तर, यसको यकिन विवरण भने व्यापक अनुसन्धान गरेपछि मात्रै आउने जनाइएको छ। 

यूके क्लबले पी एन्ड आई घाटाका लागि पहिलो १० मिलियन डलर कभर गर्नेछ। यसको अलावा पी एन्ड आईको पुलले १०० मिलियनसम्म कभर गर्नेछ।

लन्डनको पुनर्बीमा कम्पनी लोयडले २.१ बिलियन डलरसम्मको दाबी कभर गर्नेछ। यस्तै पी एन्ड आई बीमकहरुले पनि १ बिलियन डलरको दाबीका लागि योगदान दिनेछन्। – एजेन्सी