काठमाण्डौ । नेताहरु टेलिभिजनको ‘टक शो’ जस्तो कार्यक्रममा ठूला दलका दुई नेताबीच तँ तँ म म भन्दै हात हालाहालको अवस्था सिर्जना भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र नेकपा (एमाले)का नेता केशब बडालबीच पत्रकार ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा तल्लो स्तरमै उत्रिएर एकअर्कालाई गालीगलौज गरेका हुन् । 

हिजो राति प्रसारण भएको कार्यक्रममा नेताद्धय बस्नेत र बडालबीच यो हदको चर्काचर्की परेको हो ।

प्राइम टिभीको युट्युब च्यानलमा समेत राखिएको ५२ मिनेट ६ सेकेण्डको पूरा भिडिओको ३५ मिनेटमा पत्रकार धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए–“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ! ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”

यत्तिकैमा एमाले नेता बडालले नेता बस्नेतलाई ‘फटाहा कुरा गरिराखेको’ दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत हुन्छन्। उनले तुरुन्तै जवाफ फर्काए–“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढी कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।”

उता, बडालले भने विनम्र भएर ‘तपाईँले असत्य बोल्नुभएको छ’ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्–“फटाहा किन भन्छस ? साले, डाका, देशद्रोही कम्युनिष्ट ।’

फेरि बडाल बोल्न खोज्छन् । तर, बस्नेतले ‘चुप’ भन्दै कडा रुपमा आफूलाई प्रस्तुत गर्छन् ।
(भिडियो र कन्टेन्टका लागि प्राइम टिभीलाई धन्यवाद)