काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकासहित देशका ठूला सहरका विद्यालयहरु एक महिना बन्द गरी अनलाइन पठनपाठन गराउन सुझाव दिएको छ। 

मन्त्रालयले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट कम उमेर समूहमा देखिएको यस्तो सुझाव दिएको हो। त्यसैले कम उमेरका बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनकै लागि एक महिना विद्यालय बन्द गरी अनलाइन पठनपाठन गराउन सुझाव दिइएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयका मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। ‘१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन बनेको छैन, यस्तो बेला उनीहरुलाई संक्रमण जोगाउनु पर्ने हाम्रो दायित्व हो’, उनले भने। 

मन्त्री त्रिपाठीले उपत्यकाका मात्र ७–८ लाख विद्यार्थी घरमै बस्दा २० प्रतिशत मोबिलिटी कम बताए। यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा छलफल भए पनि औचापरिक निर्णय आइनसकेको  उनले जानकारी दिए। निर्णय नआउँदासम्म स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन गराउन उनले शिक्षण संस्थाहरुसँग आग्रह गरे। 

यसैबीच स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको संक्रमण आउँदो जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म उच्च विन्दुमा पुग्ने अनुमान गरेको छ। यो बेला दैनिक ११ हजार जना संक्रमित हुन सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्न सक्ने मन्त्रालयको अनुमान छ। ‘यो अनुमानमात्र हो तर नहोस् भन्ने हामी चाहन्छौँ’, मन्त्री त्रिपाठीले भने, ‘नियन्त्रणका लािग आवश्यक तयारी गरिरहेका छौँ।’