काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज ३७.५८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६१.९३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले घटेर ४७९.१० को विन्दुमा समेटिएको छ।

आज कारोबार रकम पनि घटेर पौन ७ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार एवं सरस्वती क्याम्पसका एमबीएम विभागका निर्देशक केपी पाण्डे बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमास रिपोर्ट सोचेजस्तो नआउने आन्तरिक सूचना चुहिएकै कारण बजारमा गिरावट आएको हुन सक्ने बताउँछन्। फेरि लकडाउन हुन सक्ने हल्लाले पनि बजार प्रभावित भएको ह्ुन सक्ने उनको अर्को तर्क छ। ‘सरकार आन्तरिक ऋण उठाउँदा पनि बैंकिङ प्रणालीमा दबाब पर्न सक्ने आँकलनका कारण लगानीकर्ताको मनोबल कमजोर भएको हुन सक्ने देखियो’, उनले भने।

जलविद्युत क्षेत्रको नाफा निश्चित हुने र ब्याजको प्रभाव पनि बढी नपर्ने हुँदा यस्ता कम्पनी गरिने लगानी सुरक्षित हुने पाण्डेको सुझाव छ। 

बजार जानकार प्रेम ओली बजार घट्नुमा लगानीकर्तामा कोरोना संन्त्रस देखिएको हुन सक्ने बताउँछन्। अर्कोतर्फ राजनीतिक अन्यौलता बढेकै कारण यसको प्रभाव बजारमा परेको हुन सक्ने ओलीको ठम्याइ छ।

ओलीले केही दिन लगातार बढेको बजारबाट नाफा बुक गर्दा केही करेक्सन आएको हुन सक्ने बताए। ‘बजार केही दिनको करेक्सनपछि पुनः लयमा फर्किन सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा मात्रै हरियाली छाएको छ। 

यो दिन वित्त समूह ६.१७ अंकले उकालो लाग्दा जलविद्युत समूहमा ३.१८ अंकको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २४०.८३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २३९.१३ अंकले घटेको यो दिन बैंकिङ समूहमा ३४.८५ अंक, व्यापार समूहमा १०७.९ अंक, विकास बैंक समूहमा ५६.८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४१.७ अंक, अन्य समूहमा २६.७२ अंक, लघुवित्त समूहमा ६२.७ अंक, जीवन बीमा समूहमा १२९.७७ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता सेयर ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार ८६० रुपैयाँमा कारोबार भएका छन्।

यो दिन नागरिक लगानी कोषको सर्वाधिक २८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २४ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २३ करोड ८७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको २३ करोड ८ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको २२ करोड ४७ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको २१ करोड ७९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड १८ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ७७ लाख रुपैयाँ, कुमारी बैंकको १६ करोड ४० लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन चन्द्रागिरी हिल्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।