काठमाण्डौ । धितोपत्र कारोबारको हुने साताको चौथो दिन बुधबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

आज बजार १३.७९ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५८५.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१६ अंकले घटेर ४६५.११ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

सेयर लगानीकर्ता दबाब समूहमा महासचिव नयन बास्तोला हिजोको बजार बढाइ अस्वाभाविक भएको उल्लेख गर्दै आजको घटाइलाई करेक्सनकै निरन्तरता मान्नुपर्ने बताउँछन्। ‘लगानीकर्ताहरु अझै पर्ख र हेरकै अवास्थामा छन्’, उनले भने, ‘देशमा फेरि निधेषाज्ञा लागू हुँदैछ। पहिला कोरोनाकै कारण बजार बढे पनि फेरि बजार बढ्नकै लागि सोही कारणलाई उपयुक्त मान्न हुँदैन।’

अहिले लगानीकर्ताको सेन्टिमेन्टमा प्रेसर परिरहेको उल्लेख गर्दै बास्तोलाले तत्काल बजारले लय समात्न सम्भावना नरहेको तर्क गरे। ‘ठूला लगानीकर्ताहरु अहिले बजारमा सक्रिय भइहालेको अवस्था देखिँदैन, जसलाई आजको कारोबारले प्रस्ट पार्छ’, उनले भने।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने बास्तोलाको भनाइभन्दा फरक विचार राखे। ‘अहिलेको परिस्थितिमा ४–५ अर्ब रुपैयाँको कारोबार हुनुलाई उत्साहजनक रुपमा लिनुपर्छ’, उनले भने, ‘किनकि हिजोका दिन सहज परिस्थितिमा पनि हाम्रो सेयर बजारमा २–३ अर्ब रुपैयाँको कारोबार हुन्थ्यो, पछि बढेर १० अर्बभन्दा माथि भएको थियो। त्यसैले यो अवस्थामा पनि यति कारोबार हुनु भनेको राम्रै हो।’

फुल्लेलले आजको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘बजार एउटा उचाइमा पुगेर फेरि २०० अंकभन्दा बढीले तल आइसकेको छ’, उनले भने, ‘हिजो फेरि ९० अंकभन्दा बढीले बजार माथि गयो र आज फेरि तल झर्यो। यसलाई सामान्य रुपमा लिनुपर्छ।’

फुल्लेलले आगामी दिनमा बजार सकारात्मक नै हुने सक्ने बताउँछन्। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा रातो पोतिएको छ भने ३ वटामा मात्र हरियाली छाएको छ। 
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ५४.६५ अंकले उकालो लागेको छ। अन्य समूह १७.७१ अंकले बढेको यो दिन ९.१५ अंकको बढोत्तरी भएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १४९.११ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १०४.८४ अंकले घटेको आज बैंकिङ समूहमा १४.०८ अंक, होटेल तथा पर्यटन समूहमा १९.३२ अंक, विकास बैंक समूहमा २४.१ अंक, जलविद्युत समूहमा १८.८९ अंक, वित्त समूहमा १५.५३ अंक, लघुवित्त समूहमा ४६.४३ अंक, म्युचुअल फन्ड समूहमा ०.०१ अंक र लगानी समूहमा ०.१ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ८९ लाख ६५ हजार ५८८ कित्ता सेयर ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २३६ रुपैयाँमा कारोबार भएका छन्।

आज एनसीसी बैंकको सर्वाधिक २८ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको १६ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १४ करोड ४६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४६ लाख रुपैयाँ, निफ्राको ११ करोड ४६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ३३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १० करोड ८२ लाख रुपैयाँ, शिवम् सिमेन्टको १० करोड ८० लाख रुपैयाँ, नबिल बैंकको १० करोड ७३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ८ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि पोजेटिभ सर्किट लागेको हो।

आज पोखरा फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।