काठमाण्डौ । कोरोना महामारीका कारण बढ्दो स्वास्थ्य संकट नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारले निषेधाज्ञा जारी गरेकै दिन आज बिहीबार सेयर बजार भने दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार २५.८२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६११.१० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९१ अंकले उकालो लागेर ४६९.०२ को उचाइमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा आज बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

साइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक तथा त्रिविका उपप्राध्यापक वीरेन्द्र बिष्ट निषेधाज्ञाका कारण सबैले कारोबार गर्न नपाउँदा सोचेजस्तो कारोबार हुन नसकेको बताउँछन्। ‘तर एक हप्ताभित्रै बजारले सकारात्मक गति लिन्छ’, उनले भने, ‘पोहोर पनि लकडाउनका कारण केही सुस्ताएको बजार १ वर्षभित्रै हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसैले अब बजार तल आउँदैन।’

अबको एक वर्षभित्र बजार ४५०० विन्दुसम्म पुग्न सक्ने अनुमान बिष्टको छ। ‘सेयर बजारको माहौल सकारात्मक छ, आकर्षण पनि बढ्दो’, उनले भने, ‘छिटै बजारले नयाँ उचाइ लिनेमा आशावादी हुन सकिन्छ।’

अहिले बैंक तथा वित्तीय संस्थाहरुको भाउ तलै रहेका कारण लगानीकर्ताहरुले राम्रा बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्दा डराउनुपर्ने अवस्था नआउने बिष्टले बताए। बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट राम्रै आएका कारण लगानीकर्ताले छानी–छानी लगानी गर्नसक्ने अवसर रहेको पनि उनको भनाइ छ। 

बजार जानकार मेघनाथ निरौलाले आजको बजार बढाइलाई सकारात्मक लिनुपर्ने बताउँछन्। ‘निधेषाज्ञा जारी भएको छ, अब अनलाइन प्रणाली लिएकाहरुले मात्र सेयर कारोबार गर्न पाउने भएका छन्’, उनले भने, ‘यस्तो अवस्थामा बजार बढ्नु भनेको सकारात्मक नै मान्नुपर्छ।’ 

यस्तो अवस्थामा ४ अर्ब माथि नै कारोबार हुनुलाई पनि सकारात्मक मान्नुपर्ने निरौलाको तर्क छ। ‘यतिबेला देशमा स्वास्थ्य संकट छ, साना तथा नयाँ लगानीकर्ताहरु पैसा जोहो गर्नतिर लागेका छन्’, उनले भने, ‘त्यसैले गर्दा कारोबार केही घटेको देखिन्छ। तर अहिलेको पस्थितिमा यति कारोबार हुनु भनेको राम्रै हो।’

कोरोना महामारीका अन्य क्षेत्र सुस्ताएका बेला अब लगानी भित्रिने भनेको क्षेत्र सेयर बजार नै रहेको निरौलाको भनाइ छ। ‘त्यसैले बजार बढ्ने नै हो, सबैतिर महोल बन्दै जाने हो भने बजारले सकारात्मक गति लिन्छ, अनि दैनिक २० अर्बसम्म कारोबार हुने दिन पनि टाढा छैन’, उनले भने।

अहिलेको अवस्थामा दीर्घकालीन लगानी गर्दा फाइदा हुने निरौलाले सुझाव दिए। ‘आत्तिएर बजारबाट बाहिरिने बेला होइन यो, बरु होल्ड गर्दा राम्रो र अहिलेको अवसरलाई सदुपयोग गर्दै राम्रा कम्पनीमा लगानी गर्दा फाइदै हुन्छ’, उनले भने।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमाससम्म राम्रै कमाएकाले अब बढ्ने सेक्टर यिनै रहेको निरौलाले बताए। ‘त्यसैले राम्रा बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा फाइदै हुन्छ’, उनले भने।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। आज जीवन बीमा समूह सर्वाधिक १४२.८८ अंकले उकालो लागेको छ। व्यापार समूह १२६.५४ अंकले बढेको आज बैंकिङ समूहमा ७.५५ अंक, विकास बैंक समूहमा २७.३ अंक, जलविद्युत् समूहमा ८९.२ अंक, वित्त समूहमा ५.२३ अंक, निर्जीवन बीमा समूहमा १२४.८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०३.६८ अंक, अन्य समूहमा ५०.७३ अंक, लघुवित्त समूहमा ४४.३६ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह २७.७७ अंकले घट्दा लगानी समूहमा ०.११ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनी

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता सेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँमा किनबेच भएको छ। 

आज एनसीसी बैंकको सर्वाधिक ३० करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन पावर पाटर्नरको १६ करोड ७३ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ८३ लाख रुपैयाँ, निफ्राको ११ करोड ४२ लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ८७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ७८ लाख रुपैयाँ र नबिल बैंकको ९ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। महिला लघुवित्त र सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। आज सान्जेन जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन श्री इन्भेस्मेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।