काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा हरियाली छाएको छ। 

आज बजार ५४ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६६५.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.७८ अंकको बढोत्तरीका साथ ४७७.८१ को उचाइमा पुगेको छ। यो दिन कारोबार रकम भने बढेर सवा ७ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको बढाइले बजारमा सकारात्मक माहौल सिर्जना भएको प्रस्ट हुने बताएका छन्। ‘निषेधाज्ञाका बेला पनि बजार यसरी उकालो लाग्नु भनेको लगानीकर्ताको मनोबल बढ्दै गएको स्पष्ट संकेत गर्छ’, उनले भने, ‘लगानीकर्ताको मनोबल बढ्दा बजारले सकारात्मक गति लिन्छ।’

अनलाइन प्रणालीको व्यापक प्रयोगले पनि बजार बढ्नलाई टेवा पुगेको रौनियारको भनाइ छ। ‘यस्तो असहज परिस्थितिमा अनलाइन प्रणालीकै कारण लगानीकर्ताले घरमै बसेर सेयर खरिदबिक्री गर्न पाएका छन्’, उनले भने, ‘अन्य क्षेत्रमा भन्दा अहिले सेयर बजारमा भरमार लगानी भित्रिरहेको छ। विदेशमा रहेका नेपालीहरुले सेयर खरिदबिक्री गरिरहेका छन्। सबैतिर सकारात्मक माहौल रहेकोले बजार अझै बढ्नेमा कुनै शंका छैन।’

बुलिस बजारमा अब केही दिनपछि करेक्सन आइहालेमा पनि आत्तिनुपर्ने अवस्था नरहने रौनियारले बताए। ‘तर बजारमा अब ठूलो संकट आउने सम्भावना कतै छैन’, उनले भने। 

बजार यसरी नै सकारात्मक बन्दै गए छिटै १५–२० अर्ब रुपैयाँको कारोबार हुने दिन पनि आउने रौनियारको भनाइ छ।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल कोरोना संकटका कारण अन्य क्षेत्रमा लगानी गर्ने सम्भावना नरहेकोले सेयर बजारमा भित्रिरहेको बताए। यसले पनि बजारलाई सकारात्मक दिशातिर लगिरहेको उनको भनाइ छ। 

अहिले बजार बढ्नुको मुख्य कारण भनेकै कोरोना, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमास रिपोर्ट राम्रो आउनु र लगानीकर्ताको मनोबल बढ्दै जानु नै रहेको कँडेलको तर्क छ। विस्तारै बैंकिङ क्षेत्र पनि जुर्मुराउन थालेपछि बजारले थप गति लिने उनको दाबी छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन सबैभन्दा बढी जीवन बीमा समूह ६३२.१८ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४३४.७९ अंकले बढेको आज बैंकिङ समूहमा १९.९१ अंक, विकास बैंक समूमा ३८.२४ अंक, वित्त समूहमा १६.०७ अंक, होटेल तथा पर्यटन समूहमा १११.१७ अंक, जलविद्युत समूहमा ३७.७१ अंक, लगानी समूहमा ०.६३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५०.३६ अंक, लघुवित्त समूहमा १०४.३९ अंक, म्युचुअल फन्ड समूहमा ०.०४ अंक, अन्य समूहमा ९२६ अंक र व्यापार समूहमा ७९.२८ अंकको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर ७ अर्ब ३६ करोड ८ लाख ५०० रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन एनसीसी बैंकको सर्वाधिक ४२ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३२ करोड ४४ लाख रुपैयाँ, निफ्राको २४ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड २३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २० करोड ३ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १६ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकको १४ करोड ६३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

यो दिन ३ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आज सानिमा जनरल इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ। 

आज नारायणी डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलपरका का सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेका छन्।