काठमाण्डौ । निजी क्षेत्रले अक्सिनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्ति मिलाउन उद्योगहरुलाई आग्रह गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आफूसँग मौज्दात रहेको सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपिल गरिएको छ। ‘मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको छ’, अपिलमा भनिएको छ, ‘कोभिड १९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ। अस्पतालहरु भरिँदै गएका छन् भने विशेषगरी संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ। त्यसैले सम्पूर्ण ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागिमात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि आग्रह गर्दछौँ।’

यस परिस्थितिमा आमउपभोक्तालाई पनि आफ्नोजस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिती नगरिदिन अपिल गरिएको छ। यसैगरी अन्य व्यवसायीहरुसँग यदि सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन अनुरोध गरिएको छ। 

यसैगरी अत्यावश्यकीय खाद्यसामग्रीको सञ्चिती र त्यसमा मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ। ‘माहामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिती र मूल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा आग्रह गर्दछौँ’, अपिलमा भनिएको छ। 

अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मूल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि निजी क्षेत्रले आह्वान गरेको छ। यसका साथै आमउपभोक्तामा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सञ्चिती नगरिदिन हुन पनि उनीहरुले अनुरोध गरेका छन्। 

यसैगरी केही निजी अस्पतालहरुले विषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचारतर्पm पनि ध्यानाकर्षण भएको संयुक्त अपिलमा जनाइएको छ। ‘बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्पm लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छौँ’, अपिलमा भनिएको छ। 

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले जिम्मेवार व्यवसायमा विश्वास गर्ने र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्ने जनाएका छन्। ‘चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रर्वद्धन गर्न एवं गैरप्रतिस्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारबाही गर्न सरकारलाई हाम्रो साथ हुनेछ’, अपिलमा भनिएको छ।