काठमाण्डौ । कोरोना दोस्रो लहर रोकथाम तथा नियन्त्रणका जारी निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढेको छ। 

सरकारले गत वैशाख १६ गतेदेखि उपत्यका निषेधाज्ञा जारी गरेको छ। यसबीच उपत्यकाबाहिर अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ। 

निषेधाज्ञाका बेला बैंकहरुका सीमित शाखाहरमा खुलेका छन्। यस्तो अवस्थामा वाणिज्य बैंकहरुले गत वैशाख १८ गतेदेखि वैशाख २४ गतेसम्म १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले जनाएको छ। योसँगै वाणिज्य बैंकहरु कुल निक्षेप ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख १७ गतेसम्म बैंकहरुको कुल निक्षेप ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। 

यो अवधिमा वाणिज्य बैंकहरुले १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँग वैशाख २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख १७ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो।