काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिडविरुद्धको लडाइँमा अत्यन्त सुझबुझ र विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह गरिदिन सरकारका सम्बद्ध निकायहरूसमक्ष आग्रह गरेको छ। 

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘यो समय बाँच्ने र बचाउने समय हो’ भन्दै यस्तो आग्रह गरेको हो। ‘वर्तमानमा असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस भनि हामी प्रयत्नशील छौँ’, अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ।’

राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको विज्ञप्तिमा उल्लेख छ। ‘तोकिएको कोटाअनुसार अक्सिजनसमेत उपलब्ध हुन सकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।’

कोभिड–१९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्देश्य लिई नर्भिक इन्टरनेसनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा जनाइएको छ।  ‘हामी आफ्नो कर्मप्रति समर्पित छौं । अक्सिजनलगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै स्थिति हाम्रो काबुबाहिर नजाओस भनी हामी प्रयत्नशील पनि छौँ ।’