काठमाण्डौ । नेपाली कांग्रेस र माओवादी केन्द्र संविधानको मर्म विपरीत काम गरेको आरोप लगाउँदै राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमतिमा पुगेका छन्। 

यो सहमतिलाई औपचारिक रुप दिन र सकभर यो अजेण्डामा एमालेको माधवकुमार नेपाल पक्षलाई समेत सहभागी गराउने हेतूले देउवाको बुढानिलकण्ठस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बोलाइएको छ । 

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाका अनुसार बैठक सुरु हुनै लागेको छ । बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनका लागि देउवा निवास पुगिसकेका छन् । 

यो बैठकमा एमालेकै नेपाल पक्षलाई समेत डाकिएको छ । नेपालसहितका नेता बैठकमा आउने खबर प्राप्त भएको थापाले जानकारी दिए । 

राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् । यो समय दिएसँगै धारा ७६(४) मा नगई एकाएक ७६(५) मा गएर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको विपक्षी गठबन्धनको आरोप छ । यही विषयलाई आधार बनाई राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको कांग्रेसका नेताहरुले दाबी गरेका छन् । 

आजै बिहान कांग्रेसका केन्द्रीय पदाधिकारीको बैठक समेत बसेको थियो । सो बैठकले समेत राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउनुपर्ने निश्कर्ष निकालेको थियो । सो बैठकले प्रधानमन्त्रीविरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने अजेण्डा अगाडि बढाउने निर्णय गरेको छ । 

माओवादी केन्द्र समेत कांग्रेसका दुवै प्रस्तावकै पक्षमा छ । यदि एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएको खण्डमा प्रधानमन्त्रीलाई हटाउने गरी अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ । 

यस्तै, जनता समाजवादी पार्टी(जसपा)लाई प्रधानमन्त्रीको अफर नै दिएर भए पनि केपी ओलीलाई सरकारमा टिकिरहन नदिने विपक्षी गठबन्धनको रणनीति छ । 

विपक्षी गठबन्धन पछिल्लो कदमका कारण राष्ट्रपतिविरुद्ध बढी आक्रामक देखिएको छ । संविधानमा संसदमा कायम सदस्य संख्याको एकचौथाईले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनसक्ने प्रावधान छ । त्यस्तो प्रस्ताव पारित हुन भने दुईतिहाई मत चाहिन्छ । यसको अर्थ विपक्षी गठबन्धनले आजै महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन्, तर त्यो राजनीतिक स्टण्ट मात्र हुनेछ, कारण त्यो प्रस्ताव पारित हुन दुईतिहाई मत चाहिन्छ, जुन विपक्षी गठबन्धनसँग छैन ।