काठमाण्डौ । कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनले बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समेत पुगेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको विषयमा सामूहिक निर्णयका लागि बोलाइएको बैठकमा सत्तारुढ दलका वरिष्ठ नेता पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेकपा एमालेभित्र जारी शक्ति संघर्ष र पार्टी विभाजनको अवस्थाबाट फर्काउने गरी केही दिनअघि अध्यक्ष केपी ओली र नेता नेपालबीच भएको सहमतिविपरीत विपक्षी गठबन्धनको छलफलमा सहभागी भएपछि ओली पक्ष झस्किएको छ । 

ओली पक्ष नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वार रामबहादुर थापा बादललाई असहयोग गरी नेपाल पक्षले हराएपछि हिजोदेखि सो समूहप्रति रुष्ट छ । ओलीले आफू बहुमतको प्रधानमन्त्री बनेपछि नेपाल समूहका नेतालाई छानी छानी कारबाही गर्ने रणनीति बनाएका खबर नेपाल समूहसम्म पुगेको छ । यही खबर सुनेका नेपाल समेत विपक्षी गठबन्धनमा सहभागी भएका दाबी गरिएको छ । 

नेपाली कांग्रेसस्थित उच्च स्रोतले भने आफूहरुको गठबन्धनलाई साथ दिएको खण्डमा नेपाललाई अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि अफर गरिएको दाबी गरेको छ । नेपालको नेतृत्वमा सरकार बनाउनका लागि आफूहरु तयार रहेको र त्यसकै विषयमा निर्णय गर्न छलफलमा डाकिएपछि नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।

कांगे्रसमा महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन सकिए रामचन्द्र पौडेललाई आगामी राष्ट्रपति प्रस्ताव गर्ने मोटामोटी सहमति बनेको छ ।  

बुढानिलकण्ठ बैठकले नयाँ सरकार गठनका सबै विकल्पमा छलफल गर्ने यसअघि नै नेताहरुले बताइसकेका छन् । ती विकल्पमध्येको एउटा विकल्प नेपाल नेतृत्वको सरकार पनि रहेको कांग्रेस नेताले बताए ।