काठमाण्डौ । बेलारुसका राष्ट्रपतिको इशारामा एक यात्रुबिमान हाइज्याक गरिएको छ । 

सो यात्री बिमानलाई जमीनमा अवतरण गराउनका लागि आकाशमा लडाकू विमान पठाइएको थियो । 

विमानलाई गन्तव्यस्थल पुग्नुअघि नै अवतरण गराइएको थियो । पछिबाट मात्र खुलासा भयो कि सो विमानमा यात्रा गरिरहेका एक पत्रकारलाई गिरफ्तार गर्नका लागि यो खेल खेलिएको रहेछ । यो हर्कत गरेपछि बेलारुसका राष्ट्रपतिको विश्वभर चर्को आलोचना भइरहेको छ । 

आइतबार ग्रीसको एथेन्सबाट लिथुआनिया विलिनियस शहर गइरहेको रेयान एयरको यात्रुविमानलाई अवतरण गराउनका लागि आकाशमा लडाकू विमान पठाइएको थियो । त्यसपछि सो विमानलाई जबरन मिन्स्क एयरपोर्टमा अवतरण गराइयो । यो हाइज्याक २६ वर्षीय पत्रकार रोमन प्रोतसाविकलाई गिरफ्तार गर्नका लागि गरिएको थियो । 

रोमन प्रोतसाविक एक राजनीतिक कार्यकर्ता पनि हुन् । उनी राष्ट्रपति अलेकजेण्डर लुकाशेका कट्टर आलोचक पनि रहेका मिडिया रिपोर्टमा जनाइएको छ । 

बीबीसीले बेलारुसका राज्यनिकट मिडियालाई उद्धृत गर्दै लेखेअनुसार राष्ट्रपतिले यो कदम उठाउनका लागि व्यक्तिगत रुपमै कडा आदेश दिएका थिए । 

घटनाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार जब प्रोतसाविक गिरफ्तार भएका थिए, त्यसबेला उनी निकै डराएका जस्तो देखिन्थे । उनले सँगै यात्रा गरिरहेकाहरुलाई भनेका थिए कि उनले मृत्युको दण्ड भोग्नुपर्ने हुनसक्छ । बेलारुस यूरोपका एक मात्र त्यस्तो देश हो, जहाँ सजायको रुपमा मृत्युदण्ड दिइने गरिन्छ । 

यूरोपका कयौं नेताले यो घटनालाई विमान अपहरण भनेका छन् । अमेरिकी विदेश विभागले भनेको छ कि यो घटना निकै आश्चर्यजनक र बर्बर घटना हो । 

गिरफ्तारीमा परेका रोमन प्रोतसाविक नेक्स्टाका पूर्व सम्पादक हुन् । उनी एक टेलिग्राम च्यानलमा काम गर्ने पत्रकार पनि हुन् । उनले सन् २०१९ मा लिथुआनियामा निर्वासनमा रहनका लागि बेलारुस छाडेका थिए । त्यहाँबाट उनले सन् २०२० को राष्ट्रपति चुनावका घटनाहरु कभर गरेका थिए । त्यसपछि नै उनीमाथि आतंकवाद र दंगा भड्काएको गम्भीर आरोप लगाइएको थियो । 

रोमन कार्यरत संचारमाध्यमले सो निर्वाचनमा लुकाशेका विरोधीहरुलाई फाइदा हुने गरी समाचार लेखेका थिए । त्यसो त प्रोतसाविक सन् २०११ बाटै चर्चामा आएका व्यक्ति हुन्, जतिबेला उनले एक विरोधमा भाग लिएका थिए, यहीकारण त्यसबेला उनलाई उनी पढिरहेको स्कूलबाट निश्कासन गरिएको थियो ।