काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुले कुनै सुविधा नपाउने र दुःखै मात्र पाइरहने हो भने ब्रोकरलेस कारोबारको थालनी गर्नुपर्ने बताएका छन् । 

बजारमा १७ अर्ब माथिको ऐतिहासिक कारोबार भएको दिन बिजशालासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् । 

नेपालका ५० वटा ब्रोकर कम्पनीमध्ये अधिकांश संस्थागत हिसाबले चल्न नसकेका, लगानीकर्तालाई सेवासुविधा समेत दिन नसकेका उल्लेख गर्दै अवस्था यही रहिरहे लगानीकर्ताको सुविधाका लागि ब्रोकरलेस कारोबार प्रणालीको थालनी गर्नुपर्नेमा उनको जोड छ । 

'यसका लागि नेप्सेले केही कर्मचारी थपे पुग्छ । लगानीकर्ताले समेत ब्रोकरलाई जस्तो कमिसन तिरिरहनु पर्दैन ।' उनले थपे-'ब्रोकरहरुले कि त लगानीकर्तालाई दुःख दिनुभएन, होइन भने ब्रोकरलेस कारोबारको प्रणालीमा जानुपर्छ ।' उनले पछिल्लो समय लगानीकर्ताले भनेको बेला सेयर बेचेको पैसा नपाएको, कारोबार खाता खोल्दा समेत झञ्झट व्यहोरेको लगायतका विषयमा दुःख पाइरहेकामा उनको आपत्ति छ । 

ब्रोकरलेस कारोबार प्रणालीको सुरुवात गर्नुको अर्थ ब्रोकरको विजिनेश खोस्ने भन्ने उद्देश्य नरहेको प्रष्ट पारे । यसले सेवामा स्वस्थ प्रतिस्पर्धा भई लगानीकर्ताले सुविधाहरु पाउने उनको दाबी छ । 

सीइओ साउदले धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि निर्माण गर्ने नीति तथा कार्यक्रममा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था गर्नुपर्ने र त्यसको शीघ्र कार्यान्वयन गरिनुपर्नेमा समेत जोड दिए । 

उनले ब्रोकरहरुले नेप्सेलाई बाइपास गरेर बजारमा सिण्डिकेट लाद्ने उद्देश्यले आफ्नै टिएमएस बनाउन खोजिरहेका उल्लेख गर्दै यस्तो दुस्प्रयास सफल हुन नदिने प्रष्ट पारे । 'नेप्सेलाई बाइपास गरेर धितोपत्र बोर्डमा जानुभएको छ उहाँहरु ।' उनले थपे-'नेप्से पनि स्वायत्त सरकारी निकाय हो । हाम्रो अनुमतिबेगर उहाँहरुले कसरी टिएमएस लिनु हुँदो रहेछ, हामी पनि हेर्छौ ।' 

उनले आफूलाई अर्थमन्त्रालयबाट निश्चित ब्रोकरहरुको मात्र रजगज चल्ने गरी टिएमएसका लागि अनुमति नदिन प्रष्ट निर्देशन आएको उल्लेख गर्दै आफूले पूँजी बजारलाई केही व्यक्तिको कब्जामा पर्न दिने दुस्प्रयासलाई सफल हुन नदिने र अर्थमन्त्रालयको आदेशको अक्षरंश पालना गर्ने पनि बताए । 

साउदसँगको रोचक अन्तर्वार्ता केहीबेरपछि प्रकाशित हुनेछ । बिजशालालाई पछ्याउँदै गर्नुहोला ।