काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ। कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेसनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ। 

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो। योसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाएका छन्। 

नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ। सस्तो दररेटको प्याकेज रु. ७ हजार ५०० मै उपलब्ध गराइने अस्पतालले जनाएको छ। यो प्याकेजअन्तर्गत बिरामीको सीबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रेलगायतका जाँचको सुविधा उपलब्ध हुनेछ। यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवासमेत उपलब्ध हुनेछ। 

यस्तै चेस्ट एक्स रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ। सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ। यस्तै सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ। 

नर्भिक अस्पतालले केही दिन अघिमात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निष्कर्षसहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुआत गरिसकेको छ। सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तर्गतको सेवा पाउनेछन्। 

नर्भिकका सिनियर फिजिसियन तथा कार्डियोलोजिस्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ। पछिल्लो समय मृत्यदर पनि बढ्दो छ। कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्याहरु देखिने गर्छन्। यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल जान उनले सुझाव दिएका छन्।