काठमाण्डौ । नेपाल राष्ट्रबैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्ट्रेस्ट(एलओआई) दिने निर्णय गरेको छ । 

नेपाल राष्ट्रबैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।

राष्ट्रबैंक स्रोतका अनुसार एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुनेछ । 

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको थियो । यी दुई बैंकबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जर गर्ने समझदारी बनेको हो । यी दुई बैंकबीच जारी मर्जर प्रक्रिया असारभित्रै सक्ने प्रक्रिया अगाडि बढाइएकोमा राष्ट्रबैंकको एलओआईले त्यसमा सहजीकरण गर्ने आशा गरिएको छ ।

यस्तै, नवील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो । नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले किन्ने सम्झौता गरेको थियो । नवीलले यूनाइटेडलाई गाभेर असारभित्रै एकीकृत कारोबार गर्ने तयारी गरिरहेको छ ।