काठमाण्डौ । सम्पूर्ण विश्वले भ्याक्सिनको कमीको सामना गरिरहनुपरेको यो कठिन समयमा भ्याक्सिनको सिंगल डोजबाटै कोरोनाबाट सुरक्षित रहन सकिने खबरले बाहिरिँदा कस्तो होला ? पक्कै पनि सबैको ध्यान यसतर्फ तान्निछ। यस्तो नै चाखलाग्दो खबर छिमेकी देश भारतको उत्तर प्रदेशबाट आएको छ। 

उत्तर प्रदेशको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को प्राध्यापकहरुले गरेको अनुसन्धानमा कोरोना संक्रमणबाट निको भएकाहरुलाई कोरोनाविरुद्धको एक डोज भ्याक्सिन नै पर्याप्त हुने देखिएको छ। आफ्नो अनुसन्धानको नतिजाहरुका बारेमा बीएचयूको प्राध्यापकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत पत्र लेखेका छन्। उनीहरुले आफ्नो अनुसन्धानको नतिजाका आधारमा सुुझाव पेस गर्दै कोरोनाबाट मुक्त भएकाहरुलाई भ्याक्सिनको सिंगल डोजमात्रै पर्याप्त हुने बताएका छन्। 

प्राध्यापकहरुले यस्तो गरे भ्याक्सिनको २ करोड डोज बचाउन सकिने तर्क प्रस्तुत पेस गरेका छन्। भारतमा कोरोना महामारीबाट मुक्त हुनेको संख्या २ करोडभन्दा धेरै रहेको छ। भारतमा कोरोनाविरुद्धको खोपको अभाव भइरहेको बेला यो खबरले सबैको ध्यान तानेको छ। 

बीएचयूमा न्युरोलोजी विभागका दुुई प्राध्यापक विजयनाथ मिश्रा र प्रोफेसर अभिषेक पाठक र मोलिक्युलर एन्थ्रोपोलोजी विभागका एक प्रोफेसर ज्ञानेश्वर चौबेले कोरोनाबाट निको भएका २० जनामा यो अनुसन्धान गरेका थिए। 

अनुसन्धानका क्रममा प्राध्यापकहरुले कोभिड–१९ भ्याक्सिनको पहिलो डोज पहिलो १० दिनमा संक्रमणबाट मुक्त भएकाहरुमा पर्याप्त एन्टीबडी विकास गरिदिने तथ्य फेला पारेका थिए। भ्याक्सिनको पहिलो डोजले कारोनाबाट संक्रमित नभएकाहरुमा त्यति एन्टीबडी विकासन गर्ने गर्दैन।

तर, २० जनामा गरिएको अनुसन्धानका आधारमा प्रधानमन्त्रीलाई दिइएको सुझाव कत्तिको जायज हो त ? यो प्रश्नको प्रतिउत्तरमा प्राध्यापक चौबे भन्छन्, ‘ विश्वका अन्य देशहरुमा समेत यस्ता अनुसन्धानहरु भएका छन्। अमेरिकामा एमआरएनए भ्याकिसनमाथि  यस्तो प्रकारको अनुसन्धान गरिएको थियो र त्यस अनुसन्धानको नतिजा पनि हामीले गरेको अनुसन्धानको नतिजा जस्तै छ। यसले हाम्रो अनुसन्धान प्रभावकारी भएको जनाउँछ। हामीले केवल सुुझाव मात्रै दिएका हौँ। भारत सरकारसँग संसाधनको कमी छैन। हाम्रो अनुसन्धानको नतिजाको आधारमा केन्द्र सरकार स्वयमले यस विषयमा थप डेटा संकलन गरेर काम गर्न सक्छ। यसका लागि कम्तीमा एक महिना लाग्न सक्छ।’ 

प्राध्यापक चौबेका अनुसार यो अध्ययन उत्तरी भारतका मानिसहरुमा गत फेबु्रुअरी महिनामा गरिएको थियो। अनुसन्धान गरिएका मानिसहरु कोरोनाबाट निको भएका थिए र उनीहरुले कोभिसिल्ड भ्याक्सिन लगाएका थिए। प्राध्यापकहरुले कोभ्याकिसनमाथि पनि यस्तै अनुसन्धान भइरहेको बताएका छन्। 

के छ यसको पछाडिको वैज्ञानिक कारण ?

मौलाना आजाद मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख सुनीला गर्ग अनुसन्धानको वैज्ञानिक आधारलाई हेर्ने हो भने यस्तो सम्भव भएको मान्दछन्। एकपटक कुनै प्रकारको संक्रमण भएपछि शरीरकोभित्र रहेका मेमोरी सेल्सले अर्कोपटक संक्रमण हुँदा कसरी यसको सामना गर्ने भनेर याद राख्ने गर्दछ। कोरोना संक्रमणबाट मुक्त भएपछि शरीरमा भाइरसविरुद्ध एन्टीबडी विकास हुने गर्दछ र भाइरसको सामना गर्न मेमोरी सेल्स ट्रेन हुने गर्दछन्। अर्थात जसलाई कोरोना भएको छ, उनीहरुलाई एक प्रकारको भ्याक्सिनको पहिलो डोज प्राप्त भइसकेको हुन्छ। 

तर, डाक्टर सुनिल एउटा अर्काे विषयलाई जोड्छन्। केही भ्याक्सिन नयाँ भेरियन्टविरुद्ध पनि प्रभावकारी साबित भइरहेका छन्। तर कोभिड–१९ एकपटक भएपछि दोस्रो भेरियन्टबाट संक्रमित हुने खतरा भने रहने गर्दछ। त्यसैले दुुई डोजको गाइडलाइन अपनाउनु सही हुने देखिन्छ। सुनिल भारतको केन्द्र सरकारको कोभिड–१९ टास्क फोर्सको सदस्य पनि हुन्। 

विश्वमा पहिले भएका यस्तै अनुसन्धानहरु कहाँ–कहाँ भएका थिए ?

विश्वको अन्य देशहरुमा समेत यस्ता अनुसन्धानहरु भएका छन्। इम्पेरियल कलेज अफ लन्डनको वेबसाइटको स्वास्थ्य सेक्सनमा छापिएको एक लेखमा भ्याक्सिनको सिंगल डोजले कोरोना संक्रमणबाट मुक्त भएकाहरुलाई भ्याक्सिनको सिंगल डोजले बुस्टर डोजका रुपमा काम गर्ने जनाइएको छ। यो अनुसन्धानको नतिजा यही फेब्रुुअरी महिनामा प्रकाशित भएको थियो। यो नतिजा बेलायतका ५१ जना व्यक्तिमा गरिएको अनुसन्धानमा आधारित थियो। जसमध्ये २४ जनालाई कोरोना संक्रमण भएको थियो भने बाँकी भने स्वस्थ थिए। उनीहरुको शरीरमा भ्याक्सिनको पहिलो डोज लगाएपछि त्यति नै एन्टीबडी विकास भएको पाइयो जति कम लक्ष्यणवाला कोरोना संक्रमितमा पाइएको थियो। जब कि कोरोनाबाट ठीक भएकाहरुमा भ्याक्सिनको एउटा डोज लगाएपछि कयौँ धेरै एन्टीबडी पाइएको थियो। 

अमेरिकाको एक अनुसन्धान संस्था सिडर साइनाइले पनि यस्तै अनुसन्धान फाइजर–बायोटेक भ्याक्सिनसँग गरेको थियो। २२८ जनामा गरिएको उक्त अनुसन्धानमा कोरोना संक्रमणबाट ठीक भएकाहरुमा भ्याक्सिनको पहिलो डोजपश्चात जति एन्टीबडी विकास भएको थियो, त्यति नै कोरोना संक्रमण नभएकाहरुमा दुुई डोजपश्चात प्राप्त भएको थियो। – एजेन्सी