काठमाण्डौ । नेपालको सेयर बजारको कुल पूँजीकरणले जीडीपीको आकारलाई उछिनेको छ । नेपालमा पहिलोपटक यस्तो कीर्तिमान बनेको हो । 

आइतबार नेप्से परिसूचक ५० अंकको बढोत्तरीका साथ २९०० विन्दूभन्दा माथि पुगेको छ । यस्तै, यो दिन हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ, अर्थात यो दिन १७ अर्ब २७ करोड बढीको सेयर किनबेच भएको छ । 

नेप्से परिसूचक र कारोबारमा नयाँ कीर्तिमान बनाएको यो दिन कुल बजार पूँजीकरण समेत बढेर ४० खर्ब ३३ अर्ब माथि पुगेको छ । 

पछिल्लो तथ्याङ्कअनुसार नेपालको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब ७० करोड रहेको छ । 

खासमा नेपालको जीडीपीको आकारलाई बजारको आकारले गत बिहीबार नै टपेको थियो । सो दिन बजारको कुल पूँजीकरण ३९ खर्ब ६४ अर्ब माथि पुगेको थियो । 

साताको पहिलो कारोबार दिन आइतबार त्यो रेकर्डलाई समेत ब्रेक गरी कुल पूँजीकरण ४० खर्ब ३३ अर्ब माथि पुगेको हो । 

रियल सेक्टरका कम्पनीहरुको उल्लेख्य सहभागिता नरहेको दोश्रो बजार बैंक तथा वित्तीय संस्था हाबी छन् । यहीकारण नेप्सेमा गणना हुने कुल बजार पूँजीकरण व्यवहारिक नहुने र नेपालको सेयर बजारलाई अन्य देशमा झै अर्थतन्त्रको ऐना भन्न नमिल्ने विश्लेषकहरु तर्क गर्छन् ।