काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो। गत जेठ १५ गतेदेखि जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि जेठको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको थियो। 

निषेधाज्ञामा लगाइएका प्रतिबन्धका कारण बैंकका सीमित शाखाहरुमात्र खुल्न दिइएको छ। यो बेला ग्राहकलाई डिजिटल माध्यमबाट मात्र बैंकिङ कारोबार गर्न अधिकांश बैंकले सूचित गरेका छन्। यस्तो बेला पनि बैंकहरुको निक्षेप बढ्नु निकै सकारात्मक रहेको बैंकरहरु बताउँछन्। 

चालु आर्थिक वर्षको हालसम्म बैंकहरुले कुल ३९ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

यसैगरी बैंकले जेठको तेस्रो साता ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जेठको दोस्रो साताको तुलनामा भने बैंकहरुको कर्जा लगानी २ अर्बले घटेको देखिन्छ। जेठको दोस्रो साता बैंकहरुले १० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। 

अहिलेसम्म बैंकहरुबाट कुल ३६ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्।