काठमाण्डौ । कोरोनाविरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न स्थानमा नयाँ–नयाँ तरिका अपनाउन थालिएको छ। 

यही क्रममा आफ्ना नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकाको वासिङ्टन राज्यले एउटा अनौठो उपाय निकालेको छ। यो राज्यले आफ्ना नागरिकलाई खोप लगाएबापत गाँजाको एउटा खिल्ली उपहार दिने घोषणा गरेको हो। 

युवाहरुलाई खोपप्रति आकर्षित गर्नका लागि गत सोमबार वासिङ्टन राज्यको लिक्वर एन्ड क्यानबिस बोर्डले ‘ज्वाइन्ट्स फर ज्याब्स’ नामक योजना सार्वजनिक गरेको हो। यो योजना तत्काल लागू हुने र आउँदो जुलाई १२ सम्म यसको लाभ उठाउन सकिने बोर्डले जनाएको छ। 

योजनाको यस अवधिमा कानुनी मान्यताप्राप्त गाँजाका खुद्रा व्यापारी तथा पसलेहरुले कोरोनाविरुद्धको खोपको पहिलो वा दोस्रो डोज लिएकाहरुलाई निःशुल्क रुपमा गाँजाको एउटा खिल्ली उपलब्ध गराउनुपर्नेछ। यस योजनाअन्तर्गत खोप लगाएका २१ वर्षमाथिले मात्र उपहारस्वरुप गाँजाको खिल्ली पाउने बोर्डले जनाएको छ। 

बोर्डका अनुसार खोप लगाएकै दिनमा मात्रै यो योजनाको लाभ उठाउन सकिनेछ। ‘खोप अभियानलाई सार्थक तुल्याउन थुप्रै मान्यता प्राप्त गाँजाका खुद्रा व्यापारीले राज्य सरकारको यो योजनालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्’, बोर्डले भनेको छ।

यसअघि पनि लिक्वर एन्ड क्यानबिस बोर्डले वासिङ्टन राज्यमा कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्ने उद्देश्यले यस्तैखाले योजना ल्याएको थियो। जुन यही जुन ३० सम्म लागू हुनेछ। यस योजनाअन्तर्गत जुन ३० सम्म खोप लगाउनेहरुलाई एउटा बियर, वाइन वा ककटेल निःशुल्क रुपमा उपलब्ध गराइने भनिएको छ। 

वासिङ्टनको स्वास्थ्य विभागको पछिल्लो तथ्यांकअनुसार वासिङ्टन राज्यमा कुल जनसंख्याको ४४ प्रतिशतभन्दा बढी खोप लगाइसकेका छन्। अमेरिकाभरि भने ४२ प्रतिशतभन्दा बढीले खोप पाइसकेका छन्। 

खोप लगाउन जागरुक गराउने उद्देश्यले यस्ता अनौठा योजना ल्याउने अमेरिकामा वासिङ्टन राज्यमात्रै अन्य राज्य पनि रहेका छन्। अरिजोना राज्यले पनि यसअघि खोप लगाउनेलाई निःशुल्क रुपमा गाँजाको खिल्ली उपहार दिएको थियो। 

त्यस्तै अमेरिकाका थुप्रै राज्यले कोभिड–१९ भ्याक्सिन चिठा योजनाहरु पनि ल्याएका छन्। जसअन्तर्गत खोप लगाएकाहरुले नगद उपहार जित्न सक्छन्। 

महामारी सुरु भएयता अमेरिकामा हालसम्म ३३ मिलियन मानिसमा कोरोना पुष्टि भइसकेको छ। यो अवधिमा अमेरिकामा झन्डै ६ लाखले गुमाइसकेका छन्। – एजेन्सी