काठमाण्डौ । अर्थ मन्त्रालयले पूँजीबजारलाई आफ्नै लयमा चल्न दिनुपर्नेमा जोड दिएको छ । 

मन्त्रालयका प्रवक्ता महेश आचार्यले बिजशालासँग कुरा गर्दै खुल्ला अर्थतन्त्रमा पूँजीबजारलाई आफ्नै लयमा कुद्न दिनुपर्ने बताएका हुन् । 

'पूँजीबजारको आफ्नै लय हुन्छ, यसलाई आफ्नै गतिमा दौडन दिनुपर्छ ।' धितोपत्र बोर्डको पछिल्लो कदमपछि उत्पन्न विवादको विषयमा मन्त्रालयको धारणा सोधिएकोमा प्रवक्ता आचार्यले भने-'बजारको स्वतन्त्र गतिमाथि कसैले पनि हस्तक्षेप गर्नुहुन्न ।' 

सेयर बजारको गति माग र आपूर्तिको अवस्थाले निर्धारण गर्ने उल्लेख गर्दै यसलाई आफ्नै लयमा चल्न दिए मात्र बजार परिपक्व हुने र त्यस्तो बजारमा लगानी गर्नेहरु पनि परिपक्व हुँदै जाने उनले प्रष्ट पारे । 

उनले अर्थ मन्त्रालयले पूँजीबजारका समस्याहरुलाई नजिकबाट नियालिरहेको समेत बताए । अर्थमन्त्री विष्णु पौडेल र समग्र मन्त्रालयले पूँजीबजारलाई उच्च प्राथमिकतामा राखेको र यसको विकास तथा विस्तारका लागि मातहतका निकायहरुलाई संभव भएसम्मका काम गर्न बेला बेला निर्देशन दिइने गरिएको समेत प्रष्ट पारे । 

'अर्थमन्त्री ज्यूले पनि बजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि गतिविधि नगर्न अस्ती धितोपत्र बोर्डको एनिभर्सरीमै भन्नुभएको छ । यसको अर्थ उहाँले समेत पूँजीबजारलाई प्राथमिकतामा राख्नुभएको देखिन्छ ।' प्रवक्ता आचार्यले भने-'तर, सरकारले प्राथमिकतामा राख्यो भन्दैमा बजारमा अबाञ्छित गतिविधि पनि गर्नुहुन्न । स्वस्थ र स्वतन्त्र बजारलाई आफ्नै गतिमा हिँड्न छाडिदिनुपर्छ ।' 

धितोपत्र बोर्डको कदमको विषयमा आफूहरुले पनि अध्ययन गरिरहेको उल्लेख गर्दै बजारमा हुने अस्वस्थ गतिविधि नियन्त्रणका लागि नियामकको हिसाबले आवश्यक सबै काम बोर्डले गर्न पाउने उनको भनाई छ । 'बजारको शुद्धताका लागि बोर्डले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सबै काम गर्न पाउँछ ।' उनले भने-'तर त्यस्ता कामबाट नकारात्मक प्रभाव भने पर्नु हुँदैन । लगानीकर्ताको लगानीको सुरक्षा पनि हुनुपर्छ । आज उठाइएको कुनै कदमले समग्र बजारको विषयमा नराम्रो धारणा बन्यो भने भविष्यमा त्यसले बजारप्रतिको विश्वास नै गुम्न डर हुन्छ ।' 

उनले नेपालको पूँजीबजारमा सरकारले हस्तक्षेप नगर्ने र अरुलाई पनि हस्तक्षेप गर्न नदिने उल्लेख गर्दै आफ्नै लयमा चल्ने बजारमा सचेत भएर लगानी गर्नुपर्नेमा जोड दिए ।