काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ। 

बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधिहरू उपलब्ध गराएको हो। ती राहत सामग्री कुमारी बैंकको मेलम्ची शाखाका प्रमुख विनोदभक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरेका छन्।

बाढीपहिरोबाट उत्पन्न यस विपतको समयमा आत्मबललाई उच्च राखी विपतसँग सामना गर्नुपर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितलाई ठूलो राहत हुने विश्वास बैंकले लिएको छ। 

बैंकले हाल देशभर १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदालगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।