काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्म उपभोक्ता मुद्रास्फीति बजेटमा तोकिएको सीमाभित्रै रहेको छ। 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको वैशाख महिनाको अर्थ बुलेटिनअनुसार समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ। जुन गत वर्ष यही अवधिमा ६.४६ प्रतिशत रहेको थियो।

वार्षिक विन्दुगत आधारमा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको वैशाखसम्म कुल वस्तु निकासी गत वर्षको यही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल वस्तु निकासी ८२ अर्ब ६ करोड रुपैयाँमा सीमित थियो।

यो अवधिमा भटमासको प्रशोधित तेल, जमोठ कपडा, अलैंची, चिया, जुटका बुनिएका कपडालगायतका वस्तुको निकासी बढेको छ भने पाम आयल, निर्माणसम्बन्धी यन्त्रलगायतका वस्तुको निकासी घटेको छ। 

चालु आर्थिक वर्षको १० महिनामा भारत, चीन र अन्य देशतर्फ भएको निकासीको अंश क्रमशः ७३.१ प्रतिशत, ०.८ प्रतिशत र २६.१ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो निकासी क्रमशः ७१.२, १.३ र २७.५ प्रतिशत रहेको थियो। 

यस अवधिमा भारतर्फको कुल निकासी मूल्यगत आधारमा ३५.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निकासी १८.८ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कुल वस्तु पैठारी गत वर्षको यही अवधिको तुलनामा २२.३ प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा वस्तु पैठारी १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँको भएको थियो।

यस अवधिमा प्रशोधित भटमासको कच्चा तेल, मोबाइल टेलिफोन, एमएस बिटेल, अन्य कोइला, पोलिथिन दाना, चामललगायतका वस्तुको पैठारी बढेको छ भने डिजेल, पामको तेललगायत वस्तुको पैठारी घटेको छ। 

यो अवधिमा कुल पैठारीमध्ये भारत, चीन र अन्य देशहरुतर्फ भएको पैठारी अंश क्रमशः ६५, १४.६ र २०.४ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यस्तो अंश क्रमशः ६१.३, १५.२ र २३.४ प्रतिशत रहेको थियो।

यस अवधिमा भारतबाट हुने वस्तु पैठारी २९.८ प्रतिशतले र चीनबाट हुने पैठारी १७.२ प्रतिशतले बढेको छ।