काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीस्थित एक स्रोतले कम्पनीले बोनस सेयरसहित २० प्रतिशत लाभांश घोषणा गरेको भए पनि छलफलमै नआएको हकप्रदको हल्ला चलाएर बजारमा चलखेल भइरहेको बताएका छन् । 

पुनर्बीमा कम्पनीस्थित एक स्रोतले बजारमा २० प्रतिशत लाभांशसहित सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत अगाडि बढेको भन्ने हल्ला पिटाएर सेयरमूल्यमा चलखेल भएको प्रष्ट पारेको हो । 

'हकप्रदका कुनै अजेण्डा छलफलमा आएको छैन ।' 'छलफलमै नआएको अजेण्डा अगाडि बढ्यो भनेर हल्ला पिटाइनु गलत छ ।' स्रोतले बिजशालासँग भने-'२० प्रतिशत लाभांश घोषणाबाहेक पूँजी वृद्धिका अन्य कुनै पनि अजेण्डा अगाडि बढेका छैनन् र तत्काल बढ्ने अवस्था पनि देखिन्न ।' 

पुनर्बीमा कम्पनीको सञ्चालक समितिको हिजो सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। यसबाहेक थप कुरा केही पनि नरहेको र हल्ला मात्र फैलाइएको स्रोतले प्रष्ट पारेको छ।