जानकपुर । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेलवे ट्रयाकको गति परीक्षण गरिने भएको छ। 

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेलवे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेलवे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। 

भट्टराईले भारतको इस्ट–सेन्ट्रल रेलवेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पिड’ परीक्षण गरिने जानकारी दिए। उनले भने, ‘ट्रयाक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो। स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेलवे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ।’

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेलवे ट्र्याक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई, भैंसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन्। उनले परीक्षणका क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए। उनले भने, ‘परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदा–जाँदा रेलवे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेलवे कम्पनीले जनकपुर–जयनगर रेलवे ट्रयाक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेलवे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ।’

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले बताएका छन्।

भट्टराईले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरेका छन्। अहिले जनकपुरबाट भारतको सिमानासम्मको रेलवे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले जीटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेका दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेलवे स्टेसनमा आइपुगेको थिए। अगाडि र पछाडि गुड्न सक्ने ती रेल अहिले पालले छोपेर राखिएको छ।

 

-RSS