काठमाण्डौ । विश्व बजारमा लामो समयको गिरावटपछि क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा गतिलो बाउन्सब्याक भएको छ। 

प्रतिक्वाइन ६० हजार अमेरिकी डलर पुगेर गिरावट आएको उक्त भर्चुअल मुद्राको मूल्य ५० प्रतिशतसम्म गिरावट आएर पुनः ३० हजार डलरमा बलियो सपोर्ट लिएर फर्किएको छ। उक्त मूल्यमा सपोर्ट लिएर फर्किएको यो करेन्सी हाल विश्व बजारमा ३८ हजार १६२ डलरमा कारोबार भएको छ। 

यो करेन्सीको मूल्यमा पछिल्लो २४ घन्टामा झन्डै १० प्रतिशतको वृद्धि भएको छ। 

अन्य क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि बढोत्तरी भएको छ। इथेरियममा ७ प्रतिशत, बाइनान्समा ५ प्रतिशत र कारडनोमा ९ प्रतिशतले बढोत्तरी आएको छ।

त्यसैगरी पछिल्लो समय चर्चामा रहेको डजीक्वाइनको मूल्य ८ प्रतिशतले वृद्धि भएको छ भने लाइटक्वाइन ११ प्रतिशतले बढोत्तरी आएको छ। 

सामान्यतय विश्व बजारमा बिटक्वाइनको घटबढमा अन्य करेन्सीको मूल्यमा पनि तलमाथि हुने गर्छ। ठूलो गिरावटपछि पुनः बढ्न सुरु गरेको यो करेन्सीको भाउ अब के–कसरी चल्न सक्छ भनेर हामीले विभिन्न प्राविधिक औजारमार्फत हेर्ने कोसिस गरेका छौँ।   

बोलिंगर ब्यान्डका आधारमा 

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बिट्क्वाइनलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अपर ब्यान्डलाई छोएको र ब्रेकआउट भएको छ। तर हरियो क्यान्डल बनेकोले केही समय अझै बढेरमात्रै कारोबारमा सामन्य करेक्सनको सम्भावना देखिन्छ । (हेर्नुहोस् मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको प्रतिरोध ३६६८१ डलरमा र ०.३८ प्रतिशतको प्रतिरोध ४०७७४ डलरमा, ०.५ प्रतिशतको प्रतिरोध ४४३७० डलरमा र ०.६१ प्रतिशतको प्रतिरोध ४७७९१ डलरसम्म यो करेन्सीको भाउ हुन सक्ने देखिन्छ। (तस्बिरमा हेर्नुहोस्)