काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले अब अर्थ मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाउन नपाइने चेतावनी दिएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको स्वागत र निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो चेतावनी दिएका हुन्। ‘अब मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटोछिटो काम गर्नुपर्छ’, मन्त्री शर्माले भने, ‘मन्त्रीले जान वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। अबका दिनमा थोरै समयमात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे। 

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई ममन गर्न निर्देशन दिए।

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले  ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै उनले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पुर्याउने धारणा राखे। 

कार्यक्रममा निवर्तमान अर्थसचिव ढुंगानाले कोभिडको कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारे। कोभिड महामारीकै बिच राजश्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुका साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको उनले बताए। 

अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुंगानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिबेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए। 

कार्यक्रमको सहजीकरण गर्दै राजश्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव ढुंगानाको बिदाइले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्वद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे। राजश्व सचिव पुडासैनी साउन २४ गते शनिबारदेखि सेवा निवृत्त हुनुहुँदैछ।  

नवनियुक्त अर्थसचिव मरासिनीले सोमबार नै पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहालीसँगै निवर्तमान अर्थसचिव ढुंगानाको बिदाइ गरिएको छ। आगामी ६ महिनापछि सेवानिवृत्त हुन लागेका ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ।