काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा चमात्कारिक प्रगति गरेको छ ।

माइक्रोफाइनान्समध्ये निरन्तर राम्रो प्रदर्शन गर्दै आएको फरवार्डले व्यवसाय वृद्धिमा आक्रामक नीति लिएसँगै खूद नाफामा १८०.७९ प्रतिशतको छलाङ मारेको हो । 

समीक्षा अवधिमा फरवार्डको खूद नाफा ५७ करोड ४६ लाख कायम भएको छ, जब कि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खूद नाफा ३२ करोड ७२ लाखमा सीमित थियो । 

संचालन मुनाफातर्फ पनि १८०.१७ प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष फरवार्डको संचालन मुनाफा ३२ करोड २३ लाख रुपैयाँमा सीमित भएकोमा यो वर्ष बढेर ९० करोड २९ लाखको उचाईमा पुगेको देखिएको छ । 

व्यवसाय बिस्तारमा आक्रामक रणनीति लिएका कारण कम्पनीको खूद ब्याज आम्दानीमा पनि ६९.४६ प्रतिशतको उछाल देखिएको छ । अघिल्लो वर्ष ७५ करोड १८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब २७ करोड माथि पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा करिब ५७ प्रतिशतले रिजर्ब बढाएको फरवार्डले ८ अर्ब ६३ करोड सापटी लिई तथा ६ करोड ६४ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ५अर्ब ९५ करोड सापटी लिई तथा ५ अर्ब ६० करोड बढी निक्षेप संकलन गरी ११ अर्ब ६० करोडको हाराहारीमा कर्जा परिचालन गरेको थियो । यसरी फरवार्डको सापटी, निक्षेप र कर्जातर्फ गत वर्षको तुलनामा क्रमशः ४५, १९ र ३४ प्रतिशत हाराहारीको प्रगति भएको देखिएको छ । 

अघिल्लो वर्ष १०.०१ रहेको कस्ट अफ फण्ड घटाएर ७.०६ मा सीमित गर्ने सफलता पाएको फरवार्डको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि उछाल आएको छ । अघिल्लो वर्ष ३२.७२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष ९१.८७ रुपैयाँ पुगेको हो । 

कोरोनाकालमा समेत कम्पनीले खराब कर्जालाई घटाउने सफलता पाएको छ । अघिल्लो वर्षसम्म ४.६७ प्रतिशत रहेको यस्तो कर्जा घटेर समीक्षा वर्षमा ३.६७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा फरवार्डको प्रतिसेयर नेटवर्थ रु. ३०२.५२ कायम भएको छ भने पीई रेसियो ३०.१५ गुणा रहेको छ ।