काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पोल्यान्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’ मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायलाई बिदाइ गरेको छ। 

बोर्डको विदाइसँगै उपाध्याय प्रतियोगिताको लागि शनिबार पोल्यान्ड प्रस्थान गरेका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मीले उपाध्यायलाई नेपाली खादासहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै बिदाइ गरेका थिए। अगस्ट १२ बाट बन्द प्रशिक्षणसहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’ को फाइनल अगस्ट २२ मा हुनेछ। 

कार्यक्रममा सीईओ रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताए। ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ। नेपाल साहसिक पर्यटनका लागि उपयुक्त गन्त्वय रहेको सन्देश दिँदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ। यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ’, उनले भने। 

सीईओ रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न सकिने बताए। 

बिदाइ कार्यक्रममा उपाध्यायले आफूले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए। उनले आफूले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए। ‘नेपाल बहुसांस्कृतिक,बहुभाषिक र बहुधार्मिक मुलुक हो। त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु। जसबाट कार्यक्रममा सहभागीहरुले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन्’, उनले भने। 

मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र सुप्रा न्यासनल प्रतियोगिता–२०२१ हात पार्ने गरी आफुले तयारी गरिरहेको जानकारी दिँदै उपाध्यायले यो कार्यक्रमको सहभागिताले मात्रै पनि नेपाललाई विश्वमाझ थप परिचित गराउन सहयोग पुग्ने बताए। लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका उपाध्याय पेसाले चिकित्सक हुन्। अछामका स्थायी उपाध्याय हाल फेस फरवार्ड एन्टी एजिइङ क्लिनिक, भाटभटेनी पुल्चोक तथा मेट्रो अस्पताल महाराजगन्जमा कार्यरत छन्।