काठमाण्डौ । कोभिड महामारीको प्रभाव चन्द्रागिरी हिल्सको व्यापारमा निकै परेको देखिएको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडको २५ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ। 

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीलाई २५ करोड ३८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १० करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कोभिड महामारी रोकथाम नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण चन्द्रागिरी हिल्सको मुख्य आम्दानीको स्रोत केबुलकार ठप्प नै छ। जसका कारण होटेल तथा रेस्टुराँबाट हुने आम्दानीमा पनि निकै असर परेकै कारण यो कम्पनीको व्यापार प्रभावित भएको हो। 

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी घटेर २२ करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४१ करोड ३० लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ६७ करोड २ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड ९० लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिभर्ज ३९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

कम्पनीको ईपीएस १६.५५ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ रहेको छ।