काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा खूद नाफामा २८.८९ प्रतिशतको सुधार गरेको छ।

शनिवार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २६ करोडमा सीमित खूद नाफा बढेर समीक्षा अवधिसम्म १ अर्ब ६३ करोड पुगेको हो । 

यस्तै, १ अर्ब ९२ करोडमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष २ अर्ब ४७ करोड पुगेको छ । 

कोरोनाकालमा समेत व्यवसाय विस्तारमा व्यवस्थापनले ध्यान दिएका कारण अघिल्लो वर्ष ३ अर्ब ८६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा वर्षमा ४ अर्ब ३२ करोडको उचाई छोएको छ । 

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रहेको छ । 

अघिल्लो वर्षको चौथो त्रैमाससम्म ९८ करोड १२ लाखमा सीमित रिटेन अर्निंग बढेर समीक्षा वर्षसम्म १ अर्ब २४ करोड पुगेको छ भने २ अर्ब ११ करोडमा सीमित रिजर्बको आकार बढेर २ अर्ब ५५ करोड माथि पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ०.५२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढेर ०.६२ प्रतिशत पुगेको छ भने १३.९७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) १८.०१ रुपैयाँ कायम भएको छ । यसरी प्रतिसेयर आम्दानीतर्फ पनि २८.९१ प्रतिशतको प्रगति देखिएको छ । 

समीक्षा अवधिसम्म बैंकको कस्ट अफ फण्ड ५.२९ प्रतिशत, सीडी रेसियो ८०.१२ प्रतिशत, आधार दर ७.२६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.३७ गुणा, कुल सम्पत्तिमा प्रतिफल १.०३ प्रतिशत, तरलता अनुपात २७.०८ प्रतिशत कायम भएको छ ।