काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुर र सिरहा जिल्लाको सुखीपुर नगरपालिका २ छजनाचोकमा गरी जम्मा ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ। ग्राहक सेवा केन्द्रका रुपमा सञ्चालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिनेछ। 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखालगायत १७२ शाखारहित बैंकिङ  सेवा र  ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३३९ स्थानवाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०३ वटा एटीएम सञ्चालनमा रहेका छन्।