काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले राष्ट्र बैंक घेराउ गर्नुका साथै पुँजी बजार सुधारका लागि आवश्यक कदम चाल्न भन्दै ज्ञापनपत्र पनि बुझाएका छन्।

सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजी बजार सुधार संघर्ष समितिले अगुवाइमा आज राष्ट्र बैंक घेराउ गरिएको हो। त्यसअघि लगानीकर्ताहरु काठमाण्डौको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा भेला भएर राष्ट्र बैंक पुगेका थिए। 

लगानीकर्ताहरुले गभर्नरको राजीनामा, ४ करोड र १२ करोडको कर्जा सीमा तत्काल खारेजजस्ता माग गरेका छन्। 

राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्। यसअधि सेयर बजारमा यस्तो सीमा तोकिएको थिएन। 

मौद्रिक नीतिमा यो व्यवस्था गरिएपछि बजार लगातार घटिरहेको छ। 

राष्ट्र बैंक घेराउपछि संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमामा आजभोलि नै केही परिमार्जन हुने बताएका छन्। 

आफ्ना माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म दिउँसो ३ बजेदेखि ५ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) रिले अनसन सुरु गर्ने लगानीकर्ता दिपेन्द्र अग्रवालले चेतावनी दिएका छन्। ‘यदि यो अवधिमा पनि माग पूरा नभए भदौ ३० गतेबाट अनिश्चितकालीन आमरण अनसन सुरु गर्नेछौँ’, उनले भने। 

मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहारी गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा लगाएर समग्र पुँजी बजारको विकासको बाधक बनेकोले यो व्यवस्था तुरुन्त खारेज गर्नुपर्ने लगानीकर्ताहरुको माग छ। 

यसैगरी विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि लगानीकर्ताहरुले अघि सारेका छन्। 

यस्तो छ ज्ञापनपत्र –