काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफूले टेलिफोन गरी सेयर बजारमा राष्टबैंकका कारण भएको समस्या समाधान गर्न भनी आग्रह गरेको विषयमा बोली फेरेका छन् । 

संसोधित बजेटको विषयमा थप प्रष्ट पार्न अर्थमन्त्रालयमा केहीबेरअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो बोली फेरेका हुन् । 

सेयर बजारको समस्या समाधानका लागि भइरहेका प्रयास लगायत पछिल्ला केही घटनाक्रमहरुको विषयमा पत्रकारहरुले राखेको प्रश्नको उत्तर अन्तिममा दिएका अर्थमन्त्री शर्माले आफूले गभर्नरलाई कुरा बुझ्नका लागि मात्र फोन गरेको भन्दै बोली फेरेका हुन् । 

गभर्नरतर्फ इंगित गर्दै उनले भने-'गभर्नरसँग फोन नै नहुने कुरा हुन्न नि ? उहाँ त मेरो सल्लाहकार हो नि, आफ्नो सल्लाहकारसँग कुरै गर्न नपाउने भन्ने पनि हुन्छ ?'

उनले आफ्नै सचिवालयबाट जारी विज्ञप्तिभन्दा केही फरक ढंगले आफ्नो धारणा व्यक्ति गरे । 'फोन गरेको हो, तर मैले उहाँलाई लिमीटेड बढाउनुस्, यसो गर्नुस्, उसो गर्नुस् भनेको छैन नि । भने हुँला त ? बाहिर आएका कुरा सबै साचो हुँदैनन् नि ।'-उनले बोली फेर्दै भने।

उनको सचिवालयले सेप्टेम्बर ६ को दिन दिउँसो १२ः५५ बजे पठाएको प्रेस नोटमा भनिएको थियो-'शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्रबैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।'  

यस्तै, अर्थमन्त्री शर्माले सेयर बजारमा आबद्ध ४२ लाख लगानीकर्ताको अधिकार रक्षा गर्नुपर्ने आवश्यकता समेत रहेको उल्लेख गर्दै यो विषयलाई आफूले महत्वका साथ हेरिरहेको भने बताएका छन् । 'यिनै समस्या समाधानका लागि हामीले छानबिन समेत गरिरहेका छौं ।' उनले भने-'उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । सो समितिले बजारका सबै समस्याहरुको पहिचान गरी हामीलाई सिफारिस गर्ने आशा बोकेका छौं ।' 

उनले सेयर बजारको विषयमा धेरै बोल्दा वा कम बोल्दा नै अफजस आउने गरेको भन्दै निकै छोटकरीमा आफ्नो भनाई राखेका थिए ।