काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत आइतबारबाट काठमाण्डौका विभिन्न स्थानकमा एकैसाथ काम सुरु भएको छ। 

परियोजनाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा १०० जना, चन्द्रागिरीको मातातिर्थमा १०० जना र सहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरलाई काममा लगाइएको छ। 

यस्तै होटेल एसोसिएसन नेपाल (हान) सँगको ४० जना बढीले काम सुरु गरेको छ। जसअनुसार आइतबारमात्र करिब ३०० बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुर काममा जोडिएका छन्। 

यस्तै परियोजनाअन्तर्गत काठमाण्डौकै कीर्तिपुर र काठमाण्डौबाहिरका पर्वतको जलजला, संखुवासभाको चिचिलामा गरी करिब  ५० जना श्रमिक काममा आवद्ध भएको परियोजनाले जनाएको छ। परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाका साथै काठमाण्डौको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुंगा एक/एक गरी १० वटा स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिसकेको छ।  

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलरबराबरको रकम खर्च गरिनेछ। विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्याइने परियोजनाको लक्ष्य छ। 

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ। परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए।