काठमाण्डौ । राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ। 

आज बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। 

अर्थमन्त्री शर्माले पेस गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। 

उक्त प्रस्तावलाई बहुमत सदस्यले पारित गरेका हुन्। प्रमुख प्रतिपक्षी दल एमालेले भने विरोध जनाएको थियो। 

राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ। 

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए।