काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा चालु आर्थिक वर्षको साउन मसान्तमा रु. १ खर्ब १८ अर्ब ४९ करोड लगानीमा रहेको जनाएको छ। 

राष्ट्र बैंकले साउन मसान्तसम्ममा १ लाख ११ हजार ४७१ ऋणीलाई उक्त सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको जनाएको हो। 

साउन मसान्तमा रु. १ खर्ब ७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको पनि बैंकले जनाएको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार ४९८ ऋणीलाई प्रवाह भएको रु. १ खर्ब १२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ६० हजार ३२२ महिला उद्यमीलाई प्रवाह भएको रु. ५५ अर्ब ७९ करोड कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ। 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ६५१ ऋणीको रु. ३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकको भनाइ छ। 

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा रु. १ अर्ब स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।