काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन्। 

राष्ट्रपति भण्डारीबाट विनियोजन विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न पाउने बाटो खुलेको छ। प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठकबाट पारित विनियोजन विधेयक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन्। 

प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आज बसेको राष्ट्रियसभा बैठकबाट पनि पारित भएको थियो। पारित गरेको सो विधेयक प्रतिनिधिसभामा फर्काएको थियो । त्यसपछि प्रतिनिधिसभाबाट विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो। 
अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो। उक्त बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए।

विनियोजन विधेयक पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो। बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन।