काठमाण्डौ । धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष निरज गिरीले आफूहरुलाई लगानीकर्ताहरुले कार्यालयमै बन्धक बनाएर सहमति गराएको आरोप झूठो रहेको बताएका छन् । 

धितोपत्र बोर्डकै एउटा कर्मचारी संगठनले हिजो साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै दुई दिनअघि लगानीकर्ताहरुसँग भएको सहमतिको विषयमा प्रश्न उठाएपछि सो विषयमा बिजशालालाई प्रतिक्रिया दिंदै कार्यकारी निर्देशक समेत रहेका गिरीले यस्तो बताएका हुन् । 

उनले आन्दोलनकारीहरुसँग वार्ता हुने दिन दिउँसो ३ बजेदेखि नै आफूहरुले अर्थमन्त्रालयसँग समन्वय गरी सुरक्षाकर्मी बोलाएको समेत उल्लेख गरेका छन् । सुरक्षाकर्मीको साथमै बसेर आन्दोलनकारीसँग वार्ता भएको र सौहाद्रपूर्ण रुपमै सहमति भएको समेत बताएका छन् ।

'लगानीकर्ताले हामीलाई बन्धक बनाएको भन्ने कुरा होइन ।' उनले भनेका छन्-'आन्दोलनमा सामान्य धक्कामुक्का हुनु ठूलो कुरा होइन । यस्ता आन्दोलन हामीले धेरै भोगेकाले ठूलो विषय लागेन । तर हाम्रा कतिपय नयाँ कर्मचारीका लागि यो इस्यू भएको हुनसक्छ, उहाँहरुले यस्तो आन्दोलन नभोगेका कारण यो विषय बाहिर आएको हुनसक्छ।' 

उनले डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा समेत आफूहरु कार्यालयमै थुनिएको उदाहरण दिंदै नियामक निकाय भएपछि कतिपय असहज अवस्था पनि भोग्नुपर्ने प्रष्ट पारे । 

उनले फूल अध्यक्ष नभएको अवस्थामा आन्दोलनकारीहरुसँग वार्ता गरिएको र उनीहरुको माग संचालक समितिमा प्रस्तुत गरिने समेत दोहोर्याएका छन् । 

उनीसँग भएको कुराकानीको अडियो सुन्नुहोस्: