क्यानबेरा । अस्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकलाई नभित्र्याउने भएको छ। 

प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ। अस्ट्रेलियाले आजसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ।

गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलोपटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए। गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो। 

यसैबीच प्रधानमन्त्री मोरिसनले मंगलबार अस्ट्रेलियालीहरुपछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकभन्दा कुशल आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थी हुने बताएका छन्।

अन्य देशबाट अस्ट्रेलिया प्रवेश गर्नेहरुको संख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सिर्जित प्रतिबन्धका कारण भएको हो। कोभिड महामारीले अस्ट्रेलियाली विश्वविद्यालयमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालय विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन्। 

जारी सीमा प्रतिबन्ध निरन्तर रहँदा अन्तर्राष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन्।

प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, ‘अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन्। यसका साथै अस्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत फर्किने विद्यार्थी पनि त्यतिकै महत्वपूर्ण छन्।’

अस्ट्रेलियन पर्यटन परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ। त्यसले महामारीभन्दा पहिले अन्तर्राष्ट्रिय पर्यटकबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो। यस परिषद्ले मार्चसम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ। 

अस्ट्रेलियाले कोभिडविरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ। तर, पनि संक्रमण भने नियन्त्रणमा आइसकेको छैन।

- RSS/AP