काठमाण्डौ । आफ्नो निर्देशन र सहमतिविपरीत निक्षेपको ब्याजदर बढाउने बैंकहरुको विषयमा नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले छलफल गर्ने भएको छ । 

प्रणालीमै समस्या निम्त्याउने गरी कतिपय बैंकले आफूहरुको निर्देशन र सहमतिविपरीत निक्षेपको ब्याज बढाएर ११ प्रतिशत माथि पुर्याएपछि सो विषयमा छलफल हुन लागेको एनबीएका एक अधिकारीले जानकारी दिए । 

एनबीएले आफ्ना सदस्य बैंकरलाई निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्न भनेको थियो । उसले निर्देशन गरिरहँदा हिजोसम्म मात्रै पनि कुनै पनि बैंकले आफूहरु समस्यामा रहेकोले सिंगल डिजीट क्रस गर्छौ भनेका थिएनन् । 

'कसैले पनि सिंगल डिजीट क्रस गर्छौ भन्नुभएको थिएन । कुनै तर्क पनि पेश गर्नुभएको थिएन । सबैले मौन सहमति जनाउनुभएको थियो ।' एनबीएका ती अधिकारीले भने-'तर आज ब्याजदर प्रकाशित गर्दै नबोल्ने बैंकरले नेतृत्व गरेको बैंकले नै ११ प्रतिशत बढी ब्याज पुर्याएका छन् ।' 

प्रणालीमा ब्याजदर युद्ध सुरु हुँदा यसको लाभ कसैलाई पनि नहुने र अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा अर्थतन्त्रमै समस्या पर्ने भएकोले ब्याजदर बढाएका बैंकहरुले पुनर्विचार गर्नुपर्ने आफूहरुको निश्कर्ष रहेको उनले बताए । 

'मुख्य रुपमा ६ वटा बैंकमा समस्या देखियो । यो विषयमा पहिला हामी एनबीएका पदाधिकारीहरु भेटेर छलफल गर्छौ ।' नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने-'त्यसपछि सम्बन्धित बैंकरसँग पनि कुरा गर्छौ । समस्या समाधानका लागि प्रयास गर्छौ ।' 

एनआइसी एशिया, एनसीसी, लक्ष्मी, बंगलादेश बैंक, प्राइम र सिद्धार्थ बैंकले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि प्रकाशित गरेका छन् । यसले सिंगल डिजीटमै ब्याजदर कायम राख्ने एनबीएको उर्दीको खिल्ली उडेको छ भने थोरै ब्याजदर कायम गर्ने बैंकहरुलाई निक्षेप खोसिने चिन्ता बढेको छ ।