-अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले भारी अङ्कको पहिरो गएसँगै लगानीकर्ताहरूलाई 'मार्जिन कल' आउन थालेको छ । 

लगानीकर्ताहरूले बैङ्कमा सेयर धितो राखेर लिएको कम्पनीहरूको मूल्यमा भारी अङ्कको करेक्सन आएसँगै जोखिम उच्च भएकाले बैङ्कहरूबाट मार्जिन कल आउन सुरु भएको हो।  

'केही दिनअघि बैङ्कबाट फोन आएको थियो ।' एक लगानीकर्ताले भने-'बैङ्कबाट पैसा डिपोजिट गर्नुपर्यो, कि त थप सेयर धितो राख्नु पर्यो भन्दै फोन आयो। आफूसँग थप सेयर र पैसा पनि छैन। किनेको सेयर पनि झन्डै ३० प्रतिशतले घटिसकेको छ। अब के गर्ने होला भनेर अन्योलमा छु।'

अहिले धेरैजसो लगानीकर्ताहरूलाई वित्तीय संस्थाहरूबाट फोनको घण्टी बझ्न सुरु भएको छ। 'अहिलेसम्म त फोन आएको छैन। तर यहीअनुरूप बजार घट्यो भने मार्जिन कल आउने पक्का छ। बजार यत्रो घटेकाले तिर्ने उपाय पनि छैन ।'-अर्का लगानीकर्ताले भने।

बजारको घटाई हेर्दा लगानीकर्ताहरूलाई 'मार्जिन कल' आउने निश्चित रहेको एक ब्रोकर बताउँछन । उनले भने-'लगानीकर्ताहरूले वित्तीय अवस्था राम्रा भएका कम्पनीहरू धितो राखेर लोन लिएका छन् भने मार्जिन कल तत्कालै नआउने देखिन्छ। तर लगानीकर्ताहरूले वित्तीय अवस्था नै कमजोर भएका कम्पनीहरू धितो राखेर लोन लिनु भएको छ। कतिपयले धितो राखेका कम्पनीहरूको सेयरमूल्य आधाले घटिसक्यो। त्यसैले मार्जिन कल आउनु कुनै नौलो कुरा होइन।'

ती ब्रोकरकाअनुसार विकास बैङ्क साथै फाइनान्सहरूले सबै खाले कम्पनीको सेयर धितो राखेर लोन दिन्छन्। त्यसैले मार्जिंन कल आएको हुनसक्छ। वित्तीय अवस्था राम्रो भएका कम्पनीहरूको सेयर धितो राखेर लोन लिने लगानीकर्ताहरू डराउन आवश्यक नरहेको उनको भनाई छ । 

स्वतन्त्र पुँजी बजार सुधार सघका अध्यक्ष रोहन कार्कीले मार्जिन कल गरेर बजार घटाई ठूला खेलाडी, संस्थागत लगानीकर्ता साथै बैङ्कका प्रमोटर र म्युचुअल फन्डहरूले सेयर किन्ने दाउपेच गरेका दाबी गरे । 'केही दिनमा ब्याजदर बढाएका बैङ्कहरूले राष्ट्र बैङ्कको निर्देशनमा घटाउनु पर्ने नै हुन्छ। त्यसैले बजार बढ्ने निश्चित भएकाले लगानीकर्ताहरू आत्तिनुपर्दैन ।'-उनले थपे ।