काठमाण्डौ। कोरोनाकालमा बारम्बार सुनिएको नाममध्ये एउटा हो– अक्सिमिटर। चिकित्सकहरुले हल्का लक्षण भएका कोरोना संक्रमितलाई घरमै बसेर कोरोना प्रोटोकलको पालना गर्दै अक्सिमिटर प्रयोग गर्ने सल्लाह दिँदै आएका छन्। 

अक्सिमिटरको प्रयोगबाट कहिले र कुन संक्रमितलाई अस्पताल लान आवश्यक छ भन्ने अनुमान लगाउन सकिन्छ। यसबाट अस्पतालमा हुने चाप पनि कम हुन्छ र आवश्यक व्यक्तिहरुले समयमै उपचार प्राप्त गर्न सक्छन्। 

दक्षिण अफ्रिकाको एउटा अनुसन्धानबाट कोरोना पोजेटिभ देखिएपछि अक्सिजनको स्तर जाँचका लागि पल्स अक्सिमिटरको उपयोग गरेर संक्रमितको ज्यान बच्न सक्ने तथ्य बाहिरिएको छ। यो अध्ययनका लागि ८११५ उच्च जोखिम भएका संक्रमितहरुलाई घरमा अक्सिजन जाँच गर्नका लागि अक्सिमिटर दिइएको थियो। उच्च जोखिम भएका संक्रमितमा वृद्धवृद्धा, गर्भवती महिला, हृदय रोग तथा मधुमेहजस्ता पुराना रोगबाट ग्रसितहरु थिए। कोभिडको पहिचान भएपछि बिरामीलाई पल्स अक्सिमिटर दिइएको थियो र यसको सही उपयोग भए नभएको सुनिश्चित गर्नका लागि फलो–अप गरिएको थियो। 

९० प्रतिशतभन्दा कम रिडिङ आएका कोरोना संक्रमितलाई इमरजेन्सी रुपमा जानका लागि भनिएको थियो। यसका साथै अक्सिमिटर रिडिङमा केही पनि नदेखाए पनि यदि सास फेर्न कठिनाइ भएको छ भने डाक्टरलाई तुरुन्तै सम्पर्क गर्न समेत भनिएको थियो। जुन बिरामीलाई घरमै अक्सिमिटरको निगारनीमा राख्नका लागि भनिएको थियो, उनीहरुको मृत्यु हुने सम्भावना ५० प्रतिशत कम थियो। 
कोरोनापश्चात अक्सिमिटरको काम के ? 

कोरोनाको सुरुआती चरणमा अक्सिमिटरको प्रयोग धेरै भयो। तर, अहिले धेरैजसो मानिसले पूर्ण रुपमा खोप लगाइसकेका छन्। त्यसैले कोरोना संक्रमणको मामिलामा पनि विस्तारै कमी आइरहेको छ। यस्तोमा मानिसहरुलाई अक्सिमिटरको के काम हुन सक्छ भन्ने लागिरहेको हुन सक्छ। वास्तवमा अक्सिजन स्याचुरेसन केवल कोरोनाका बिरामीमा मात्रै कम नभईकन अन्य कयौँ कारणले पनि कम हुन सक्छ। त्यसैले कोरोनाका अलावा पनि अक्सिमिटर धेरै काम लाग्न सक्छ। 

पल्स अक्सिमिटर ती व्यक्तिहरुका लागि उपयोगी हुने गर्दछ, जसमा अक्सिजन स्याचुरेसनलाई प्रभावित गर्ने अवस्था वा रोगहरु हुन्छ। उदाहरणका लागि स्लिप एक्सपर्टहरुले ती व्यक्तिहरुलाई रातको समयमा अक्सिमिटर सँगै राख्ने सल्लाह दिन्छन्, जो स्लिप एपनिया वा घुर्ने समस्याबाट पीडित हुन्छन्। 

उसो त पल्स अक्सिमिटरलाई प्रयोग गर्न एकदमै सजिलो छ। तर, यसका लागि केही नियमहरु रहेका छन्। डिभाइसको सटिकता भिन्न–भिन्न हुन सक्छ। 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो अध्ययनमा १० अश्वेत रोगीहरुमध्ये कुनै एकजनामा परिणाम सटिक नआउने जनाएको छ। छाला मोटो हुँदा, छालाको तापक्रम, सूर्तीजन्य पदार्थको सेवन र नङमा नङ पोलिस लगाइएको अवस्थामा अक्सिमिटरको रिडिङ सही नहुन सक्छ। 

त्यसैले नङ पोलिस हटाएर अक्सिमिटर औँलामा लगाउनु पर्छ। यसका अलावा अत्याधिक चिसो तापक्रममा पनि अक्सिमिटरको सटिकतामा कमी आउन सक्छ। त्यसैले हात चिसो नभएको सुनिश्चित गर्नुपर्छ। 

अक्सिमिटर प्रयोग गर्नुअघि रगतमा अक्सिजनको सही स्तर कति हुन आवश्यक पर्छ भनेर जान्न आवश्यक हुन्छ। स्वस्थ व्यक्तिको रगतमा अक्सिजनको स्याचुरेसन लेभल ९५ देखि १०० प्रतिशतका बीच हुने गर्दछ। ९५ प्रतिशतभन्दा कम अक्सिजन लेभलले व्यक्तिको फोक्सोमा समस्या भएको संकेत गर्दछ। अक्सिजनको स्तर यदि ९४ भन्दा तल्लो स्तरमा जान लाग्यो भने सचेत हुनुपर्छ र यदि ९३ वा यो भन्दा तल झर्यो भने बिरामीलाई तुरुन्तै अस्पताल लग्नुपर्छ। किनकि यसले व्यक्तिको शरीरको ८ प्रतिशतसम्म कोशिकाहरुले अक्सिजन प्रवाह गर्न सकिरहेको छैन भन्ने संकेत गर्ने गर्छ। – एजेन्सी