काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) ले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति (प्रथम त्रैमासिक) समीक्षामा पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो, लिक्विडिटी रेसियो र सीआआरलगायतका विषयमा लचकता अपनाउने नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। 

संघका नवनियुक्त अध्यक्ष उपाध्यायसहितका पदाधिकारी र गभर्नर महाप्रसाद अधिकारीबीच भेटमा संघले विभिन्न आठबुँदे सुझाव पेस गरेको हो। ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सूत्र/विधि पुनरावलोकन गर्न पनि संघले सुझाव दिएको छ।

निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने पनि सुझाव दिइएको छ। 

यसैगरी एसएमई बोन्डलगायत कन्भर्टेबल डिबेन्चर, पिर्पेचुअल डिबेन्चर आदिजस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्न, पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्न, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ। 

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीका रुपमा स्थापनाका लागि उचित नीतिगत व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ। 

बैंकहरुले वित्तीय साक्षरतालगायत बैंकिङ प्रवर्द्धन कार्य गर्नका लागि आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्न पनि सुझाव दिइएको छ। 

गभर्नर अधिकारीले प्रथम त्रैमासिक समीक्षाका लागि संघबाट पेस गरिएका सुझावहरुमाथि आन्तरिक छलफल गरी उचित सुझावहरु कार्यान्वयन गरिने आश्वासनसमेत दिए। उनले नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति/निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन पनि दिए। 

गभर्नर अधिकारीले कर्जा प्रवाहमा संयमित हुन बैंकरहरुलाई आग्रह पनि गरे। पछिल्लो समयमा भएको उच्च कर्जा वृद्धितर्फ संकेत गर्दै गभर्नर अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गरेका हुन्। 

गभर्नर अधिकारीले नवनिर्वाचित अध्यक्ष उपाध्यायलगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। 

कार्यक्रममा उपाध्यायले राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघका तर्फबाट वित्तीय सुशासन, सबलीकरण र अभिवृद्धिमा आफ्नोतर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए। यसका साथै भर्खरैमात्र सम्पन्न ४२ औँ सार्क फाइनान्स गभर्नर्स ग्रुप मिटिङले गभर्नर अधिकारीलाई सार्क फाइनान्सको अध्यक्ष चयन गरेकोमा उपाध्यायले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। 

गभर्नरको कार्यकालमा सार्क फाइनान्स गभर्नर्सबीच बीच आर्थिक तथा वित्तीय क्षेत्रका साझा विषयहरुमा अपसी सहकार्य र समझदारी हुने अपेक्षा उनले व्यक्त गरे। 

कार्यक्रममा डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरुलगायत राष्ट्र बैंकका उच्च पदाधिकारीहरु तथा संघका तर्फबाट नयाँ कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो।