– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधबार आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थित थियो।

बिहानको ८ः३० बजे सुरु गर्ने भनिएको कार्यक्रममा गभर्नर अधिकारी झन्डै ९ बजे आएका थिए। तर, अर्थमन्त्री शर्मा भने डेढ घन्टा ढिला गरी आएका थिए। अर्थमन्त्रीका आतिथ्यमा ८ः३० बजे विमोचन गरिने भनिएको ‘अर्थचित्र’ १० बजे मात्र विमोचन गरिएको थियो।  

कार्यक्रममा उपस्थित पत्रकार, विभिन्न व्यवसायी संघसंगठनका प्रमुख छक्क त तब परे जब अर्थमन्त्री शर्माले एउटै सोफामा बसेका गभर्नरलाई सम्बोधन नै गरेनन्। अर्थमन्त्रीले सम्बोधन नगर्दा उपस्थित पत्रकारहरुबीच कानेखुसी भएको पनि देखिन्थ्यो।

मौद्रिक नीतिका साथै अन्य नीतिहरू ल्याउँदा बेग्लै–बेग्लै पार्टीका भएर गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचको कुरा नमिलेको हल्ला अचेल सुन्ने गरिन्छ। तर, आजको कार्यक्रममा अर्थमन्त्री शर्माले छेउमा बसेका नाफिजका अध्यक्ष तथा अन्य उद्योग–व्यवसायी संघसंगठनका अध्यक्षलाई सम्बोधन गर्दै गर्दा छेउमा नै बसेका गभर्नरलाई सम्बोधन गर्न बिर्सिनुलाई संयोगमात्र भन्न मिल्दैन।

अर्थमन्त्री शर्माले सम्बोधन गर्दा नाफिज अध्यक्ष, वरिष्ठ पत्रकार, उद्योगव्यवसायी संघसंगठनका प्रमुख भन्दै गर्दा राष्ट्र बैंकका गभर्नरको मात्र नभएर संस्थाको पनि नाम लिन भुलेका थिए। यसले अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग मात्र नभएर राष्ट्र बैंकसँग पनि रुष्ट भएको प्रस्टाउँछ।

नेपाल राष्ट्र बैंक परिसरमा हिजो मंगलबार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा पनि अर्थमन्त्री शर्माले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका थिए। अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरु यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरु डराउनुपर्ने अवस्था रहेको भन्दै उनले सहज वातावरण बनाउन निर्दैशन दिएका थिए। 

आजको कार्यक्रममा ढिला आएका अर्थमन्त्री अर्को कार्यक्रममा जानुछ भनेर केहीबेरमै निस्केका थिए। कार्यक्रमबाट निस्किँदै गर्दा अर्थमन्त्री र गभर्नरबीच दुई शब्द पनि मुस्किलले साटासाट भएको देखिन्थ्यो। 

उपस्थित सबैजना आश्चर्यचकित त तब भए जब गभर्नर अधिकारीले पनि आफू ११ बजे अर्थमन्त्रीको उपस्थितिमा हुने कार्यक्रममा जानुछ भनेर कार्यक्रमस्थलबाट बाहिरिए।