काठमाण्डौ । भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने योजना अघि बढ्ने भएको छ।

भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो। नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्द्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन्।

विधेयकका बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

सरकारी जानकारीअनुसार संसद्को हिउँदे अधिवेशनमा ‘क्रिप्टोकरेन्सी एन्ड रेगुलेसन अफ अफिसल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत हुनेछ। उक्त कानुनले केन्द्रीय बैंकले सरकारी डिजिटल मुद्रा विकास गर्नका लागि आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। जनवरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा थियो।

हालैका महिनामा भारत सरकारले क्रिप्टोकरेन्सीलाई मुद्राका रुपमा भन्दा पनि नियमबद्ध सम्पत्तिका रूपमा हेर्ने अपेक्षा गरिएको थियो।
विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक नभएको हुँदा पुरानोभन्दा के परिवर्तन गरिएको छ भन्ने स्पष्ट छैन।

विधेयकको घोषणापछि केही क्रिप्टोकरेन्सीको मूल्य घटेको छ। भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डगकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको जनाइएको छ।

द क्रिप्टो ट्रेडरका लेखक ग्लेन गुडम्यानले यसको विश्वव्यापी प्रभाव भने तुलनात्मक रुपमा कम परेको बताएका छन्। ‘चीनले क्रिप्टोकरेन्सी प्रतिबन्धित गर्ने निर्णय गर्दा पनि त्यसले क्रिप्टो बजारलाई मारेन’, उनले बीबीसीको वर्ल्ड बिजनस रिपोर्ट कार्यक्रममा भने।
इन्डिया टुडेका अनुसार क्रिप्टोकरेन्सी भारतीय नियमानुसार चल्ने अनलाइन एक्सचेन्जबाट खरिदबिक्री गर्न मिल्ने व्यवस्था गरिने सम्भावना छ। कोइनडेस्क वेबसाइटका अनुसार भारतीय केन्द्रीय बैंकको क्रिप्टोकरेन्सीप्रतिको धारणा सकारात्मक छैन।

सन् २०२० को मार्चमा भारतीय सर्वोच्च अदालतले उक्त बैंकले क्रिप्टोकरेन्सी कारोबारमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध उल्टाएको थियो।

गत साता गभर्नर शक्तिकान्त दासले ब्लकचेन प्रविधि क्रिप्टोकरेन्सीबिना विकास हुन सक्ने बताउँदै अर्थ र आर्थिक स्थायित्वलाई लिएर केन्द्रीय बैंकको गम्भीर चिन्ता रहेको बताएका थिए।

गुडम्यानले चिनियाँ सरकारले आफूले बनाउन लागेको डिजिटल मुद्राबाहेक अरु सबै क्रिप्टोकरेन्सीलाई हटाउन चाहेको बताए। ‘उनीहरु क्रिप्टोकरेन्सीमा प्रभुत्व जमाउन चाहन्छन् र मलाई लाग्छ कि भारतको पनि उस्तै सोच हो’, गुडम्यानले भने, ‘उनीहरु सोच्छन् कि चीनले गर्छ भने हामी पनि गर्न सक्छौँ।’ –बीबीसी